काठमाडौं । इनर्जी ड्रिंक दिनमा दुई क्यानभन्दा बढी सेवन नगर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई आग्रह गरेको छ। विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायतका बिरामी र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक सेवन नगर्न पनि सुझाव दिएको छ।

विभागले बुधबार सूचना जारी गर्दै नेपालमा उत्पादित इनर्जी ड्रिंकमा प्रयोग गरिएको क्याफिनको मात्रा मानव उपभोगका लागि निर्धारित सुरक्षित सीमाभित्र रहेको जनाएको छ।
विभागका अनुसार नेपालमा इनर्जी ड्रिंक उत्पादन तथा बिक्रीवितरणका लागि १७ वटा उद्योगले सम्बन्धित सरकारी निकायबाट अनुमति लिएका छन्। ती उद्योगका उत्पादनको लेबल विवरण र प्रयोगशाला परीक्षण प्रतिवेदनअनुसार प्रति क्यान १०० मिलिग्राम क्याफिन रहेको पाइएको छ। यो मात्रा विभागले उल्लेख गरेको सुरक्षित उपभोगको सीमाको २५ प्रतिशतभन्दा कम हो।
इनर्जी ड्रिंक अल्कोहलरहित क्याफिनयुक्त पेय पदार्थ हो। यसमा क्याफिन, ग्वाराना, टाउरिन, बी–भिटामिन, चिनी, पानीलगायतका पदार्थ मिसाइएको हुन्छ। विभागले अन्तर्राष्ट्रिय वैज्ञानिक अध्ययन र अभ्यासका आधारमा स्वस्थ वयस्कले चिया, कफी, चकलेट र इनर्जी ड्रिंकसहित सबै स्रोतबाट लिने क्याफिनको कुल मात्रा दैनिक ४०० मिलिग्रामभन्दा बढी हुन नहुने जनाएको छ।

विभागले सेवन गर्न मिल्ने व्यक्तिलाई एक दिनमा ३३० मिलिलिटरसम्मका दुई क्यानभन्दा बढी इनर्जी ड्रिंक नपिउन अनुरोध गरेको छ। साथै, इनर्जी ड्रिंकलाई पानी, जुस, दूध, मोहीजस्ता पौष्टिक पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न र अन्य पेय पदार्थमा मिसाएर सेवन नगर्न पनि आग्रह गरेको छ।
इनर्जी ड्रिंक उत्पादक तथा विक्रेतालाई विज्ञापन गर्दा प्रचलित कानुनअनुसार आवश्यक अनुमति लिन र उत्पादनको लेबलमा उल्लेख गरिएका चेतावनी तथा सुरक्षित उपभोगसम्बन्धी सन्देशसमेत प्रसारण गर्न विभागले निर्देशन दिएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने उद्देश्यले वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्डका आधारमा काम भइरहेको उल्लेख गर्दै विभागले इनर्जी ड्रिंकबारे समाचार सम्प्रेषण गर्दा तथ्यमा आधारित सूचना दिन सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत कार्य गर्ने इनर्जी ड्रिंक उत्पादक तथा विक्रेतालाई कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ।








