जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले तीन जना मेडिकल अधिकृतलाई तीन दिनभित्र कार्यालयमा उपस्थित भई हाजिर हुन अन्तिम ताकेता गरेको छ।

प्रतिष्ठानका रजिस्ट्रारको कार्यालयले बुधबार सूचना जारी गर्दै मेडिकल अधिकृत डा. सङ्गीता न्यौपाने, डा. दिरिश्य विश्वकर्मा र डा. नवीनकुमार मण्डललाई हाजिर हुन निर्देशन दिएको हो।

प्रतिष्ठानका अनुसार उनीहरू मेडिकल अधिकृत पदमा कार्यरत थिए। उनीहरूको परीक्षणकालसमेत पूरा नभएको र प्रतिष्ठानलाई अध्ययन बिदा दिन आवश्यक नभएको अवस्थामा माग गरिएको अध्ययन बिदा अस्वीकृत गरिएको थियो। त्यसपछि पटकपटक कार्यालयमा हाजिर हुन ताकेता गरिए पनि उनीहरू हालसम्म उपस्थित नभएको सूचनामा उल्लेख छ।
सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई हाजिर हुन प्रतिष्ठानले अन्तिम मौका दिएको छ। तोकिएको अवधिभित्र पनि हाजिर हुन नआएमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीको सेवाका सर्त र सुविधा सम्बन्धी नियमावली, २०६९ (संशोधित २०८१ समेत) तथा प्रचलित कानुनअनुसार सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने प्रतिष्ठानले जनाएको छ।








