रुपन्देही । रुपन्देहीको भैरहवामा तीन अर्ब ८२ करोड रुपैयाँ लगानीमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल निर्माण हुने भएको छ। अस्पतालको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भएसँगै निर्माण प्रक्रिया अघि बढ्ने भएको हो।
सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा निर्माण प्रस्ताव गरिएको अस्पतालको ईआईए प्रतिवेदन कृषि, वन तथा वातावरण मन्त्रालयको २०८३ असोज १२ गतेको मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको हो। लुम्बिनी क्यान्सर अस्पताल प्रालिमार्फत निर्माण हुन लागेको यस आयोजनामा प्रारम्भिक विवरणमा साढे चार अर्ब रुपैयाँ हाराहारी लगानी हुने उल्लेख भए पनि पछिल्लो अनुमान तीन अर्ब ८२ करोड रुपैयाँ रहेको छ।
अस्पतालका सञ्चालक तथा लगानीकर्ता कमल भण्डारीका अनुसार ईआईए स्वीकृत भएपछि निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइनेछ। भौतिक संरचना निर्माण सम्पन्न गरी इजाजतपत्र प्राप्त गरेको तीन वर्षभित्र अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उनले बताए।
करिब तीन बिघा क्षेत्रफलमा निर्माण हुने अस्पतालको प्रस्तावित भवन बेसमेन्ट र भुइँतलासहित आठ तलाको हुनेछ। करिब ३५ मिटर अग्लो भवनको कुल क्षेत्रफल १९ हजार ६१६.०४ वर्गमिटर रहने प्रस्ताव छ। अस्पतालमा उपचारका लागि आवश्यक उपकरण तथा पूर्वाधारसहित ९०० वर्गमिटर क्षेत्रफलमा बंकर संरचनासमेत निर्माण गरिनेछ।
अस्पतालमा क्यान्सरका बिरामीलाई एकै ठाउँबाट विभिन्न प्रकारका उपचार सेवा उपलब्ध गराउने योजना छ। प्रयोगशाला, रेडियोलोजी, अल्ट्रासाउन्ड, प्याथोलोजी, शल्यक्रिया, सघन उपचार कक्ष (आईसीयू), बहिरङ्ग सेवा (ओपीडी), २४ घण्टे आकस्मिक सेवा, किमोथेरापी र रेडियोथेरापी सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। यसबाहेक बोनम्यारो प्रत्यारोपण तथा क्यान्सरसँग सम्बन्धित अन्य विशिष्टीकृत उपचार सेवा पनि उपलब्ध गराउने लक्ष्य राखिएको छ।
प्रस्तावित योजनाअनुसार अस्पतालको बेसमेन्टमा पार्किङ, क्याफे तथा क्यान्टिन, भूमिगत पानी ट्याङ्की, जेनेरेटर कक्ष र वातानुकूलन प्रणाली रहनेछन्। भुइँतलामा आकस्मिक सेवा, रेडियोलोजी र फार्मेसीसहित २४ शय्या रहनेछन्। पहिलो तलामा प्रयोगशाला, रक्तसम्बन्धी सेवा र क्यान्सर उपचारको बहिरङ्ग सेवासहित ३४ शय्या राखिनेछ।
दोस्रो तलामा शल्यक्रिया कक्ष, शल्यक्रियापछिको उपचार कक्ष, केन्द्रीय उपकरण शुद्धीकरण सेवा र पेट स्क्यान मेसिन राख्ने योजना छ। चौथो तलामा शल्यचिकित्सा वार्ड, आईसीयू, क्रिटिकल केयर र एचडीयूसहित ५० शय्याको व्यवस्था प्रस्ताव गरिएको छ। पाँचौँ तलामा प्रशामक उपचार तथा बाल क्यान्सर उपचार सेवाका लागि २५ शय्या रहनेछन्।
अन्य तलामा ज्येष्ठ नागरिकका लागि डे केयर सेवा, प्रशासनिक कक्ष, बैठक तथा सम्मेलन कक्ष, योग र ध्यान, उपचार तथा पुनःस्थापना सेवा र खुला छतको व्यवस्था गरिनेछ। अस्पताललाई अपाङ्गतामैत्री र बिरामीमैत्री बनाउन सातवटा लिफ्ट, ह्विलचेयरमैत्री संरचना, अपाङ्गतामैत्री शौचालय र एम्बुलेन्स सेवाको व्यवस्था गर्ने प्रस्ताव गरिएको छ।
अस्पताल सञ्चालनमा आएपछि २८५ जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ। भण्डारीका अनुसार अस्पतालमा २२० जना प्राविधिक तथा स्वास्थ्यकर्मी र ६५ जना प्रशासनिक तथा अन्य अप्राविधिक कर्मचारी आवश्यक पर्नेछन्।
लुम्बिनी र गण्डकी प्रदेशका नागरिकलाई गुणस्तरीय क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल निर्माण गर्न लागिएको भण्डारीले बताए। अस्पताल सञ्चालनमा आएपछि क्यान्सर उपचारका लागि काठमाडौं, चितवन तथा भारतका विभिन्न सहर जानुपर्ने बिरामीको बाध्यता कम हुने अपेक्षा गरिएको छ।
विशेषगरी नियमित किमोथेरापी, रेडियोथेरापी र अन्य उपचारका लागि टाढा जानुपर्ने बिरामी तथा उनीहरूका परिवारलाई यातायात, बसोबास र खानपानमा लाग्ने खर्च घटाउन सहयोग पुग्ने अपेक्षा छ। रुपन्देहीसहित कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र दाङका बिरामीले समेत अस्पतालबाट सेवा लिन सक्नेछन्।
भण्डारीकै लगानी समूहले भैरहवामा १५० शय्याको एडभान्स अस्पताल निर्माण गरी सञ्चालनको तयारीसमेत गरिरहेको छ। प्रस्तावित एडभान्स अस्पताल र लुम्बिनी क्यान्सर अस्पतालबीच करिब ५०० मिटर दूरी रहनेछ। एडभान्स अस्पतालबाट क्यान्सरबाहेक अन्य रोगको उपचार सेवा उपलब्ध गराउने योजना छ।
ईआईए प्रतिवेदन स्वीकृत भए पनि लुम्बिनी क्यान्सर अस्पतालको निर्माण सुरु हुने निश्चित मिति र सेवा सञ्चालनको विस्तृत समयतालिका भने सार्वजनिक गरिएको छैन। आवश्यक प्रक्रिया पूरा गरेर निर्माण कार्य अघि बढाइने सञ्चालक भण्डारीले बताएका छन्।









