काठमाडौं, ७ कार्तिक । आज विश्व पोलियो दिवस। नेपालमा लामो समयदेखि पोलियोका बिरामी नदेखिए पनि यसको चुनौती अझै बाँकी देखिएको छ। विश्वबाट पोलियो पूर्ण रूपमा उन्मूलन नभइसकेकाले नेपालले पनि खोप र निगरानीमा निरन्तर ध्यान दिनुपर्ने विज्ञहरुले बताएका छन् ।
नेपालमा अन्तिम पटक सन् २०१० मा प्राकृतिक रूपमा फैलिने पोलियोभाइरसबाट भएको संक्रमण व्यक्तिमा देखिएको थियो। त्यसयता यस्तो भाइरसबाट नयाँ बिरामी भेटिएका छैनन्। तर खोप छुटेका बालबालिका, सीमापार आवतजावत र अन्य देशमा भइरहेको भाइरसको प्रसारणले यो उपलब्धि जोगाइराख्नुपर्ने चुनौति भने यथावत छ ।
नेपालको विगतले पनि बिरामीको संख्या शून्य हुँदैमा जोखिम सकिँदैन भन्ने देखाउँछ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा सन् २००५ मा चार, २००६ र २००७ मा पाँच–पाँच तथा २००८ मा छ जना पोलियोका बिरामी भेटिएका थिए। सन् २००९ मा एक जना पनि बिरामी भेटिएनन्। तर सन् २०१० मा फेरि छ जनामा संक्रमण पुष्टि भएको थियो ।

दक्षिणपूर्वी एसियाको उपलब्धि जोगाउने प्रयास
विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रमा अन्तिम पटक सन् २०११ मा भारतको पश्चिम बंगालमा पोलियोभाइरसबाट भएको संक्रमण भेटिएको थियो। त्यसपछि नेपालसहित यस क्षेत्रलाई सन् २०१४ मा पोलियोमुक्त प्रमाणित गरिएको हो।
पोलियोमुक्त प्रमाणित भएपछि पनि क्षेत्रका देशहरूले खोप कार्यक्रम र निगरानीलाई निरन्तरता दिइरहेका छन्। डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयका अनुसार सन् २०२५ मा क्षेत्रभर ५० हजारभन्दा बढी दिसाका नमुना परीक्षण गरिएका थिए। पाँच देशका ९३ स्थानमा वातावरणीय निगरानीसमेत सञ्चालन गरिएको थियो।
यस्तो निगरानीले बिरामी पहिचानसँगै समुदायमा भाइरस फैलिरहेको छ कि छैन भन्ने पत्ता लगाउन सहयोग गर्छ।
नेपालमा खोपसँगै ढलको नमुना परीक्षण
नेपालले नियमित खोप कार्यक्रमसँगै अचानक हातखुट्टा लुलो हुने अवस्थाको अनुसन्धान र ढलको नमुना परीक्षण गरिरहेको छ। अचानक हातखुट्टा लुलो भएका सबै बालबालिकालाई पोलियो भएको हुँदैन। तर त्यस्तो अवस्थामा अनुसन्धान र नमुना परीक्षण गर्दा पोलियोको सम्भावित संक्रमण पहिचान गर्न सकिन्छ।
डब्लूएचओका अनुसार नेपालमा अघिल्लो वर्ष १ सय ६९ वटा ढलका नमुना परीक्षण र अचानक हातखुट्टा लुलो भएका ५ सय ९४ घटनाको अनुसन्धान गरिएको थियो। निगरानीमा पोलियोभाइरसको प्रसारणको प्रमाण भने भेटिएन। पोलियो निगरानीका लागि हाल वीरगन्ज पनि थपिएपछि कुल निगरानीस्थलको संख्या १० पुगेको छ।
नेपालमा सन् २०२४ मा भने ढलको नमुनामा खोपजन्य प्रकार–३ पोलियोभाइरस भेटिएको थियो। त्यसपछि तीन जिल्लाका तीन लाखभन्दा बढी बालबालिकालाई लक्षित खोप अभियान सञ्चालन गरिएको थियो। ढलमा भाइरस भेटिनु र बालबालिकामा पोलियो रोग पुष्टि हुनु भने फरक अवस्था हो । ढलमा भाइरस भेटिँदैमा त्यो व्यक्तिमा सञ्चार भैहाल्ने भने होइन ।
सोही वर्ष नेपालले छुटेका करिब १४ लाख बालबालिकालाई सुईबाट दिइने पोलियोविरुद्धको आईपीभी खोपसमेत दिएको थियो। यी प्रयासले नियमित खोपको पहुँच र छुटेका बालबालिकासम्म पुग्नुको आवश्यकता देखाउँछन्।
विश्वमा ठूलो कमी, उन्मूलन अझै बाँकी
विश्वमा सन् १९८८ मा १ सय २५ भन्दा बढी देशमा अनुमानित तीन लाख ५० हजार पोलियोका बिरामी थिए। त्यसयता प्राकृतिक पोलियोभाइरसबाट हुने संक्रमण ९९ प्रतिशतभन्दा बढी घटेको छ। तर अफगानिस्तान र पाकिस्तानमा यसको स्थानीय प्रसारण पूर्ण रूपमा रोकिएको छैन।
डब्लूएचओ र साझेदार संस्थाहरूले खोप अभियान, नियमित खोपको पहुँच विस्तार, सीमापार समन्वय र निगरानीमार्फत प्रसारण रोक्ने काम गरिरहेका छन्। खोपको पहुँच कम भएका समुदायसम्म पुग्नु र छुटेका बालबालिकालाई खोप दिनु यी प्रयासका मुख्य प्राथमिकता हुन्।
नेपालका लागि पनि पोलियोमुक्त उपलब्धि जोगाउने आधार यही हो। कुनै क्षेत्रमा बालबालिकाको खोप छुटिरहेमा भाइरस प्रवेश गर्दा फैलिने अवसर रहन्छ। त्यसैले राष्ट्रिय स्तरको उपलब्धिसँगै प्रत्येक समुदाय र प्रत्येक बालबालिकासम्म खोप पुगेको सुनिश्चित गर्न आवश्यक छ।
पोलियोको निको पार्ने उपचार छैन, तर खोपबाट रोक्न सकिन्छ। अभिभावकले बालबालिकाको खोप कार्ड हेरेर निर्धारित मात्रा पूरा भए–नभएको नजिकको स्वास्थ्य संस्थामा पुष्टि गर्नुपर्छ। बालबालिकामा अचानक हातखुट्टा लुलो हुने समस्या देखिएमा तत्काल स्वास्थ्य संस्थामा लैजानुपर्छ।









