–डा. मनप्रसाद वाग्ले–
यो अनुभव कसैलाई काम लाग्न सक्छ ।
क्यान्सरको उपचारसँगै बिरामीलाई सहज वातावरण र सकेसम्म सामान्य जीवनको अनुभूति कसरी दिन सकिन्छरु हाम्रो परिवारका १६ महिना यही प्रयासमा बिते। उपचार निरन्तर राख्दै हामीले उनको इच्छा, खुसी र सन्तुष्टिलाई प्राथमिकता दियौँ।
हामीले सुरुमा उनकै अनुरोधमा घरमा एउटा निर्णय गर्यौँ—“क्यान्सर” शब्दको उच्चारण नगर्ने। उनलाई आफ्नो रोग र त्यसको अवस्थाबारे थाहा थियो। तर घरको वातावरण सधैँ रोगको चर्चाले भरिन नदिने हाम्रो प्रयास थियो। यसले उनलाई रोगको चिन्ताबाट केही पर रहेर दैनिक जीवनमा रमाउने वातावरण दिएको हामीले अनुभव गर्यौँ।
हामी उनलाई उपचारप्रति आशावादी रहन हौसला दिइरहन्थ्यौँ। किमोथेरापी दिएको समय र विशेष अवस्था बाहेक भोज तथा अन्य निमन्त्रणामा पनि सहभागी गराउँथ्यौँ। अरूसँग भेटघाट गर्न र घुलमिल हुन पाउँदा उनी प्रसन्न देखिन्थिन्। आफू पनि अरूसरह पारिवारिक र सामाजिक जीवनमा सहभागी भइरहेकी छु भन्ने अनुभूतिले उनलाई ऊर्जा दिएको महसुस हुन्थ्यो।
हामीले गुणस्तरीय समय बिताउन बढी ध्यान दिन थाल्यौँ। प्रत्येक दिन सम्भव भएसम्म कतै न कतै घुम्न जाने योजना बनाउँथ्यौँ। छोरा–बुहारी कार्यालय र नाति विद्यालय जाने भएकाले उनलाई घुमाउने जिम्मेवारी मैले लिएँ। विशेष अवस्था बाहेक हाम्रो दैनिकी घुमफिर गर्ने र रमाउने गतिविधिमा बित्न थाल्यो।
उनलाई बजार घुम्न र मन्दिर जान मन पर्थ्यो। त्यसैले हामीले त्यही रुचिअनुसार योजना बनायौँ। दिल्ली जाँदा पनि नजिकका मन्दिर र बजार घुम्ने क्रम रोकिएन। काठमाडौंमा डिपार्टमेन्ट स्टोर र न्युरोडका बजारमा जाने अवसर बढायौँ। मन्दिर जाने उनको इच्छालाई पनि सकेसम्म पूरा गर्यौँ।
डाँडाकाँडामा पुग्दा उनलाई आनन्द आउँथ्यो। त्यसैले त्यस्ता ठाउँको अनुभव लिनबाट पनि वञ्चित गरेनौँ। उनको निधन हुनुभन्दा एक महिना अघिसम्म हामी रिसोर्टमा घुमिरहेका थियौँ। ती क्षणमा उनी रमाएको देख्दा हामीलाई पनि खुसी लाग्थ्यो।
घरमा रीतिरिवाजका कार्यक्रम हुँदा आफन्त बोलाउने र रमाइलो गर्ने काममा उनलाई सहभागी गराउन छोडेनौँ। नातेदारलाई रोगबारे सामान्य जानकारी थियो, तर अन्तिम चरणमा पुगेको विवरण घरबाहिरका सबैलाई भनेका थिएनौँ। घरमा आउनेहरूले उनीसँग पहिलेजस्तै व्यवहार गर्थे। भेटघाट र कुराकानी रोगमा मात्र सीमित हुँदैनथ्यो।
उनलाई भने आफ्नो क्यान्सर अन्तिम चरणमा पुगेको थाहा थियो। उनी हडबडाएकी थिइनन्। परिवारले बनाएका योजनामा सहर्ष सहभागी हुन्थिन्। उनको यही सहभागिताले हामीलाई पनि साथ दिइरहन थप ऊर्जा मिल्थ्यो।
भदौ महिनासम्म, अर्थात् निधन हुनुभन्दा एक महिना अघिसम्म पनि, म उनलाई लिएर विभिन्न ठाउँ र नातेदारका घर गइरहन्थेँ। सँगै समय बिताउँथ्यौँ। उनका मनपर्ने कुरा गर्न पाउँदा अनुहारमा सन्तुष्टि झल्किन्थ्यो।
क्यान्सरसम्बन्धी अनुसन्धानका लेख पढ्दा समय सीमित हुँदै गएको हुन सक्ने अनुभूतिले मन भारी हुन्थ्यो। तर हामीले त्यो चिन्तालाई दैनिक जीवनमा हाबी हुन दिएनौँ। उनका मनपर्ने र इच्छा गरेका कुरा सकेसम्म सहज ढंगले पूरा गर्दै गयौँ।
गर्नुपर्ने उपचार गर्ने, दैनिक जीवनमा सहभागी गराउने र घरको वातावरण सहज बनाउने प्रयासमै हाम्रा १६ महिना बिते। उपचारसँगै उनको आराम, मानसिक शान्ति र सन्तुष्टिमा ध्यान दिनु हाम्रो हेरचाहको महत्त्वपूर्ण हिस्सा बन्यो।
यो साथ र हेरचाहले उनको मनोबलमा सकारात्मक प्रभाव परेको हाम्रो अनुभूति छ। यद्यपि आत्मबल वा घुमफिरकै कारण आयु लम्बियो वा उपचारको दुष्प्रभाव घट्यो भन्ने कुरा यस व्यक्तिगत अनुभवबाट मात्रै ठहर गर्न सकिँदैन।
आज फर्केर हेर्दा, गर्न मन लागेका कुरा सकेसम्म गर्न पायौँ भन्ने सन्तोष छ। उनका कुरा सुन्यौँ, मनपर्ने गतिविधिमा साथ दियौँ र सँगै समय बितायौँ। बिछोडको पीडा आफ्नै ठाउँमा छ। तर अन्तिम समयसम्म उनलाई सहज र स्नेहपूर्ण वातावरण दिन सकेको सम्झनामा हाम्रो परिवारले सन्तोष लिएको छ।
शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयको शिक्षा संकायका पूर्वडिन डा. मनप्रसाद वाग्लेले आफ्नी धर्मपत्नीको क्यान्सर उपचारका क्रममा परिवारले गरेको हेरचाहको अनुभव फेसबूक लेखमार्फत व्यक्त गरेका हुन्।









