काठमाडौं, ३ कार्तिक । ध्यान केन्द्रित गर्न कठिनाइ हुने, अत्यधिक चञ्चलता देखिने वा आवेग नियन्त्रणमा समस्या हुने अवस्थाका रूपमा चिनिने एडीएचडी भएका व्यक्तिमा पेट तथा पाचनसम्बन्धी समस्या पनि बढी देखिने अध्ययनले देखाएको छ।
बेलायतको वारविक विश्वविद्यालयका अनुसन्धानकर्ताले १९ लाखभन्दा बढी मानिस समेटिएका २३ वटा अध्ययनको समीक्षा गर्दा यस्तो सम्बन्ध फेला पारेका हुन्। अनुसन्धानको निष्कर्ष ‘जर्नल अफ अटेन्सन डिसअर्डर्स’मा प्रकाशित छ।
समीक्षामा एडीएचडी नभएका व्यक्तिको तुलनामा एडीएचडी भएका व्यक्तिमा कब्जियत, इरिटेबल बाउल सिन्ड्रोम अर्थात् आन्द्राको कार्यसम्बन्धी समस्या र दिसा नियन्त्रणमा कठिनाइ बढी देखिएको थियो। अमेरिका, स्विडेन, जर्मनी र दक्षिण कोरियालगायत देशमा भएका अध्ययनमा दुईदेखि ६५ वर्षसम्मका व्यक्तिको तथ्याङ्क समेटिएको थियो।
अध्ययनकी सहप्रमुख लेखक साराह ब्लेकका अनुसार एडीएचडीका लक्षणमा मात्रै ध्यान दिँदा पेट तथा पाचनसम्बन्धी समस्या ओझेलमा पर्न सक्छन्। यस्ता समस्याले दैनिक जीवनमा समेत असर पार्न सक्ने भएकाले तिनलाई पनि ध्यान दिनुपर्ने उनको भनाइ छ।
एडीएचडी र पाचनसम्बन्धी समस्याबीच यस्तो सम्बन्ध किन देखियो भन्ने स्पष्ट भइसकेको छैन। अनियमित खानपान, आवेगपूर्ण व्यवहार, उपचारमा प्रयोग हुने औषधिको असर तथा आन्द्रामा रहेका सूक्ष्मजीव र मस्तिष्कबीचको सञ्चारलगायत पक्षको भूमिका हुन सक्ने अनुसन्धानकर्ताको अनुमान छ।
तर एडीएचडीले नै पेटको समस्या गराउँछ भन्ने ठोकुवाका रुपमा यसलाई लिन नमिल्ने अनुसन्धाताहरुले बताएका छन् । यस सम्बन्धमा जैविक कारण, औषधि वा अन्य पक्षको कति भूमिका छ भन्ने छुट्याउन थप अनुसन्धान आवश्यक रहेको अनुसन्धानकर्ताले बताएका छन्।
अनुसन्धान टोलीले एडीएचडी भएका व्यक्तिको हेरचाह गर्दा स्वास्थ्यकर्मीले पेट तथा पाचनसम्बन्धी लक्षणबारे पनि सोधपुछ गर्नुपर्नेमा जोड दिएको छ।









