काठमाडौं । नक्कली औषधिको कारोबार र अवैध मानव अंग व्यापार रोक्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)बीच सहकार्य सम्झौता भएको छ। गत शुक्रवार सम्पन्न सम्झौतापछि जारी संयुक्त विज्ञप्तिअनुसार सम्झौताले जनस्वास्थ्य र प्रहरी निकायबीच समन्वय बढाउने ढाँचा तय गरेको हो।
सहकार्यमा नक्कली औषधि, खोप र चिकित्सा उपकरणको अवैध उत्पादन तथा व्यापार नियन्त्रण समेटिएको छ। नक्कली व्यक्तिगत सुरक्षा सामग्री, असुरक्षित वा गलत विवरण राखिएका खाद्य तथा पेय पदार्थ र अवैध मदिराको कारोबारविरुद्ध पनि दुवै संस्था मिलेर काम गर्नेछन्।
अंग निकाल्ने उद्देश्यले हुने मानव बेचबिखन तथा मानव अंग, तन्तु र कोषिकाको अवैध व्यापार रोक्ने विषय पनि सम्झौतामा समावेश छ।

इन्टरपोलका महासचिव भाल्देसी उर्किजाले आपराधिक सञ्जालले नक्कली स्वास्थ्य सामग्री र जोखिममा रहेका व्यक्तिको शोषणमार्फत मानिसको जीवन खतरामा पारिरहेको बताएका छन्। डब्लुएचओका महानिर्देशक डा। टेड्रोस अधानोम गेब्रेयेससले सहकार्यबाट स्वास्थ्य र सुरक्षासम्बन्धी जोखिम रोक्न तथा आपत्कालीन अवस्थामा प्रतिक्रिया दिन सहयोग पुग्ने बताएका छन्।
रासायनिक वा रेडियोधर्मी पदार्थको सम्भावित दुरुपयोग र असामान्य जैविक घटनामा संयुक्त समन्वय गर्ने व्यवस्था पनि छ। ठूला अन्तर्राष्ट्रिय कार्यक्रम र भीडभाड हुने आयोजनामा स्वास्थ्य जोखिमको तयारी तथा प्रतिकार्यमा सहकार्य गरिनेछ।
सम्झौताअन्तर्गत देशहरूलाई जोखिम पहिचान र उपभोक्ता सुरक्षामा सहयोग गरिनेछ। सुर्ती नियन्त्रणसम्बन्धी डब्लुएचओको महासन्धि कार्यान्वयनमा पनि सहकार्य हुने विज्ञप्तिमा उल्लेख छ।









