काठमाडौं २९ असोज । औषधि व्यवस्था विभागले बजारमा पहिल्यै उपलब्ध इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बिक्री–वितरण तथा प्रयोगमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ। ४७ थरी ब्रान्डका औषधिको नयाँ उत्पादन र आयातसम्बन्धी निर्णयपछि भ्रम सिर्जना भएको भन्दै विभागले प्रेस विज्ञप्तिमार्फत यस्तो स्पष्टीकरण दिएको हो।
विभागका अनुसार तोकिएको समयभित्र जोखिम मूल्याङ्कनसम्बन्धी कागजात पेस नगरेका वा तोकिएको मापदण्ड पूरा नगरेका ४७ थरी ब्रान्डका औषधिको नयाँ उत्पादन तथा आयातमा रोक लगाइएको छ। सम्बन्धित प्रमाणपत्र खारेज हुने भए पनि बजारमा पहिले नै भित्रिसकेका वा बिक्री–वितरणमा रहेका औषधिको बिक्री र प्रयोग भने यथावत रहेको विज्ञप्तिमा उल्लेख छ।
अंग प्रत्यारोपण गरेका तथा दीर्घकालीन बिरामीले नियमित सेवन गर्नुपर्ने यी अत्यावश्यक औषधिको अभाव हुन नदिन प्रतिबद्ध रहेको विभागले जनाएको छ। आपूर्ति सन्तुलन मिलाउन जोखिम मूल्याङ्कनका कागजात सन्तोषजनक रहेका उद्योग तथा आयातकर्तालाई बढीमा तीन महिनासम्म उत्पादन तथा आयात गर्न अनुमति दिई प्रमाणपत्र नवीकरण गरिएको पनि विभागले स्पष्ट पारेको छ।
औषधिको गुणस्तर र सुरक्षा सुनिश्चित गर्न तथा उत्पादनका क्रममा एउटा औषधिबाट अर्को औषधिमा हुन सक्ने मिसावटको जोखिम न्यूनीकरण गर्न यस्तो व्यवस्था लागू गरिएको विभागको भनाइ छ। विश्व स्वास्थ्य संगठनको मापदण्ड र वैज्ञानिक जोखिम मूल्याङ्कनका आधारमा यी औषधि छुट्टै उत्पादन सुविधा अर्थात् ‘डेडिकेटेड फ्यासिलिटी’ मा उत्पादन गर्ने व्यवस्था अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ।
विभागले नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि आयातकर्ता संघ र नेपाल औषधि व्यवसायी संघसँग समन्वय गरी बजारमा औषधिको सहज उपलब्धता सुनिश्चित गरिरहेको जनाएको छ।
निर्णयविपरीत थप नयाँ उत्पादन वा पैठारी गरिएको पाइएमा र त्यसको प्रयोगबाट कसैलाई प्रतिकूल असर परेमा औषधि प्रदान गर्ने वा प्रयोग गराउने निकाय तथा व्यक्तिले जिम्मेवारी लिनुपर्ने विभागले चेतावनी दिएको छ।
फार्मेसी तथा थोक विक्रेतामा उपलब्ध यी औषधिको बिक्री–वितरण बन्द गरिएको वा बजारमा अभाव हुने भन्ने भ्रममा नपर्न विभागले आग्रह गरेको छ। बिरामीले आफ्नो चिकित्सकको परामर्शअनुसार पहिलेझैं बजारमा उपलब्ध औषधि निरन्तर सेवन गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।








