डा. भोला रिजाल आममानिसमा परिचित नाम हो । एकजना चिकित्सक, एक सर्जक, एक सामाजिक व्यक्ति । उनले विसं २०७९ मा एउटा पुस्तक लेखे । उक्त पुस्तकको नाम थियो सेतो कोट । उक्त पुस्तकमा डा. रिजालले ‘चिकित्सकको धर्म’ शीर्षकमा एउटा आलेख लेख्नुभएको छ । यसमा चिकित्सकीय सेवा, बिरामीप्रतिको व्यवहार र अध्यात्मबारे लेखकका विचार समेटिएका छन् । प्रस्तुत छ पुस्तक अंश ।
सामान्य अर्थमा हामी हिन्दू, बौद्ध, क्रिस्चियन, मुस्लिम आदिलाई धर्मका रूपमा मान्छौँ । तर धर्मको वास्तविक अर्थ कुनै सम्प्रदायविशेषमा सीमित छैन । संस्कृत शब्द ‘धर्म’ को खास अर्थ ‘धारण गर्नु’ वा ‘पालना गर्नु’ भन्ने हो । यसलाई हामी कुनै व्यक्ति वा वस्तुविशेषको मूल गुण, वृत्ति, प्रकृति वा स्वभावका रूपमा पनि बुझ्न सक्छौँ । जस्तो कि आगोको धर्म जलाउनु हो भने पानीको धर्म ओरालोतिर बग्नु हो ।
अब्राहम लिंकनको एउटा चर्चित भनाइ छ– जब म राम्रो काम गर्छु, राम्रो महसुस गर्छु । जब म खराब काम गर्छु, खराबै महसुस गर्छु । मलाई लाग्छ यही नै मेरो धर्म हो ।
हरेक पेसाको आ–आफ्नो धर्म हुन्छ । चिकित्सा पेसाको मुख्य धर्म सेवा हो । बिरामी जुनसुकै जात, सम्प्रदाय, लिंग, वर्ग, राजनीतिक आस्था, आर्थिक हैसियत, पद, प्रतिष्ठा वा मुलुकको भए पनि चिकित्सकले उसलाई गर्ने व्यवहार भनेको उसको उपचार नै हो । आफू जुनसुकै परिवेशको भए पनि यी सबैबाट माथि उठेर बिरामीको सेवामा खट्नु नै चिकित्सकको वास्तविक धर्म हो । स्वास्थ्यसम्बन्धी जुनसुकै जोखिमबाट घाइते वा बिरामीलाई बचाउनुबाहेक चिकित्सकको न अरू कुनै दायित्व हुन्छ न कुनै धर्म । यसमा चिकित्सक कुनै सर्त वा स्वार्थबाट नभई नितान्त सेवाभावबाट मात्रै प्रेरित हुनुपर्छ ।
हामीकहाँ अधिकांश बिरामी चिकित्सकलाई भगवान्सरह सम्झन्छन् । संसारमा कैयन् यस्ता चिकित्सक छन् जो बिरामीलाई नै भगवान्सरह मान्छन् । बिरामी देख्नेबित्तिकै उनीहरूको हृदय करुणाले भरिन्छ । भगवान्कै सेवा गरेको भावमा उनीहरू उपचारमा जुट्छन् ।
एउटा आदर्श चिकित्सकका लागि बिरामी नै भगवान् र सेवा नै धर्म हो । यति बुझ्न सके उसले कुनै मन्दिर, मस्जिद वा चर्च धाइरहनु पर्दैन । हृदय त्यसै आनन्दमय हुन्छ । जुन चिकित्सकले आफ्नो यो धर्म पालना गर्न सक्दैन, उसले पद, पैसा र प्रतिष्ठा त कमाउला तर उसको मनमा शान्ति र शरीरमा कान्ति हुँदैन । किनभने उसले आफ्नो धर्म रक्षा गर्न सकेको हुँदैन । हामीलाई त्यही धर्मले मात्रै रक्षा गर्छ, जुन धर्म हामीबाट पनि रक्षित हुन्छ ।
‘तपाईंलाई अध्यात्ममा कत्तिको रुचि छ ?
यस्तो प्रश्नमा अक्सर हामी नाक खुम्च्याउँछौँ । किनभने ‘अध्यात्म’ लाई हामीले मन्दिर, मस्जिद वा चर्च धाउने प्रक्रियाकै रूपमा ज्यादा बुझेका छौँ । वास्तवमा अध्यात्म भनेको पनि प्रत्येक वस्तुको आफ्नो मूलभूत स्वभाव नै हो । संसारका हरेक जीवित व्यक्ति वा प्राणीको मुख्य स्वभाव हो– जीवन । चिकित्सक भएका नाताले हाम्रो मूल दायित्व जीवन रक्षा हो । जीवन भनेकै के हो भन्ने पत्तो छैन भने हाम्रा लागि जीवन रक्षाको कार्य अझै दुरूह बन्छ । शरीर रचना र क्रियाविज्ञानका तमाम ज्ञान हासिल गरिसकेपछि पनि यदि कुनै चिकित्सकलाई जीवन के हो भन्ने थाहा छैन भने ऊ सही अर्थको चिकित्सक नभएर एउटा ‘शव–परीक्षक’ मात्रै हुन्छ । किनभने शरीर मात्रै हाम्रो जीवन होइन । हामी जसलाई ‘म’ भन्छौँ त्यो शरीर होइन । हात, खुट्टा, आँखा, टाउको, मुटु, मिर्गौला, फोक्सो वा मस्तिष्क कुनै पनि ‘म’ होइन । म त्यो चेतन तत्त्व हो जसले आफूलाई अनुभूत गर्छ । त्यही जीवन हो । चैतन्य हो । आत्मा हो । प्राण हो । आफूभित्रको यही जीवन अनुभूत गर्नु नै अध्यात्म हो जसलाई न संसारका कुनै विश्वविद्यालयले पढाउन सक्छन् न कुनै प्राध्यापकले बुझाउन । आफैले आफ्नो अध्ययन गर्नुपर्छ । जन्म–मृत्युको कारण बुझ्न सक्ने गरी आफूलाई चिन्ने प्रयत्न नै आध्यात्मिक मार्ग हो । यसरी आफूले आफैँलाई चिन्न खोज्नु नै जीवनको सर्वाधिक आनन्दमय यात्रा हो ।
स्वस्थ र सफल जीवनका लागि हरेकले अध्यात्म बुझ्न जरुरी छ । शरीर ‘आत्मा’ को घर हो । हामी चिकित्सकहरू घर ९शरीर० रक्षाका लागि आफ्नो जीवन समर्पित गर्छौँ, त्यही घरमा बस्ने मालिक (चेतन तत्त्व) को वास्तै गर्दैनौँ भने के यो हाम्रो मूर्खता हैन ? कुनै जमाना थियो, योग–ध्यान आदि त बुढेसकालका सहारा हुन् भन्ने गरिन्थ्यो । ध्यान गरेर, भजन गाएर केही हुँदैन भन्ने ठानिन्थ्यो । तर आज विश्वमा मानिसले आफूलाई बढीभन्दा बढी खुसी राख्न अपनाइरहेका विधि र प्रविधिहरूकै कारण ऊ झन्झन् दुःखी बन्दै गइरहेको छ । अधिकांशको शरीरमा रोग र मनमा अशान्ति छ । हरेक व्यक्ति दोस्रोलाई चिन्न खप्पिस छ तर ऊ आफूचाहिँ को हुँ भन्ने पत्तो नपाएर बेचैन छ । त्यसैले मानिसहरू फेरि बिस्तारै योग, ध्यान र अध्यात्मकै सहारा लिन थालेका छन् । यसतर्फ हामी पनि अभिमुख हुन जरुरी छ । अध्यात्म ज्ञानबाट मानसिक र शारीरिक स्वास्थ्यबीच राम्रो सम्बन्ध स्थापित गर्न सकिन्छ । यसले हाम्रो मनलाई शक्ति प्रदान गर्छ । भनिन्छ, जब मान्छे भावनात्मक रूपले स्वस्थ हुन्छ, उसलाई जस्तोसुकै ठूलो रोगले पनि केही बिगार्न सक्दैन ।

अध्यात्मको सबैभन्दा शक्तिशाली अस्त्र ध्यान हो । ध्यानले हाम्रो मन चञ्चल हुन दिँदैन । मन शान्त र स्थिर बन्छ । मन शान्त भएपछि मानसिक समस्याहरू स्वतः हट्छन् । अनि काममा एकाग्र हुन सकिन्छ । त्यसैले हामीले प्रत्येक दिन केही न केही समय ध्यान गर्नैपर्छ ।
अध्यात्म ज्ञानका लागि गीता, उपनिषद् आदिको अध्ययन गर्न सकिन्छ । यसबाट हाम्रो आध्यात्मिक बुझाइ फराकिलो बन्दै जान्छ । जस्तो कि, गीतामा कृष्णले अर्जुनलाई काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य यी ६ तत्त्वमाथि काबु राख्नु भन्नुभएको छ । कृष्णको यो सन्देश अर्जुनका लागि मात्र नभएर संसारका हामी सबै मानिसका लागि हो । काम अर्थात् यौवनको वासनामा फस्ने राजा, महाराजा, राष्ट्रपति, सेनापति, प्रधानन्यायाधीश, समाजगुरु वा जोसुकैको जीवन चौपट भएका दृष्टान्त हामीले संसारका विभिन्न मुलुक र हाम्रै देश समाजमा देख्दै आइरहेकै छौँ । यौवन आगोजस्तै हुन्छ । प्रयोग गर्न जान्यो भने त्यो आगोमा मीठामीठा खाना पकाएर खान मिल्छ । जानेन भने त्यही आगोले जीवन खरानी बनाउँछ ।
क्रोध अर्थात् अन्धो आवेगले पनि मानिसलाई त्यसरी नै सखाप पार्छ । चिकित्सकहरूमाथि बारम्बार आइरहने आक्षेप हो– उनीहरू झर्किएर बोल्छन् । यो आरोप कतिपय अवस्थामा सही हुन पनि सक्छ । यसमा हामी सबै सचेत हुन जरुरी छ । हाम्रो पेसा नै यस्तो छ कि त्यहाँ रिसाउने कुनै छुट छैन । जस्तो परिस्थितिमा पनि हामीले आफ्नो रिसलाई काबुमा राख्नैपर्छ । बिरामीलाई आफ्नो स्थानमा र आफूलाई बिरामीको स्थानमा राखेर सोच्ने हो भने रिस नियन्त्रण गर्न सजिलो हुन्छ ।
चिकित्सकहरूलाई धेरैले ठान्छन्– कि यी उपचार गर्नभन्दा पनि पैसा कमाउनै मात्र उद्यत हुन्छन् । वास्तवमा चिकित्साक्षेत्रलाई मात्र नभई आज सबै पेसा व्यवसाय लोभले आक्रान्त छ । सबैजसो मानिस कहिल्यै नभरिने यही प्यासको भाँडो भर्न लालायित देखिन्छन् । आज संसारभर जति पनि घूसखोरी अथवा गलत तवरले पैसा कमाउने होड चलेको छ त्यसको मुख्य कारण नै लोभ हो । आर्थिक लोभका कारण चिकित्सकहरूले गलत कार्य गर्न सक्ने सम्भावना हुन्छ । यसमा हामी एकदमै सचेत रहनुपर्छ । मोह हाम्रो अर्को कमजोरी हो । यो एउटा यस्तो अहितकारी पागलपन हो जसले हामी केहीप्रति अनावश्यक रूपमा आकर्षित हुन पुग्छौँ । मोहमा फसेपछि हामी पूर्ण रूपमा विवेकशून्य हुन्छौँ । अपत्यारिलो गलत काम गर्न सक्छौँ । किनकि मोहमा फसेको व्यक्ति आफूले चाहेको कुरा जुनसुकै हरकत गरेर भए पनि प्राप्त गर्ने ध्याउन्नमै मात्र हुन्छ ।
कतिपय चिकित्सकले बिरामीसँग भन्ने गरेको पाइएको छ– मैले लेखिदिएको औषधि खुरुखुरु खानुस् न बढी कुरा किन रु चिकित्सकको यस्तो व्यवहार अरू केही नभएर उसको मद वा घमण्ड हो । म डाक्टर हुँ र बिरामीलाई केही पनि थाहा हुन्न, त्यसैले मैले जे भनिदिए पनि हुन्छ भन्ने अतार्किक सोच नै यस्तो मदको उपज हो । हामी अरूलाई घमण्डी बन्नु हुन्न भनिरहेका हुन्छौँ तर आफैँ त्यसको सिकार भएको पत्तो हुँदैन । एकै छिन हामी सोचौँ– हाम्रो त्यस्तो अभिव्यक्तिले बिरामीको मानसिकतामा के गुज्रेला । त्यसैले म भन्छु– जस्तोसुकै सफलता र सम्पन्नतामा पुगे पनि हामी घमण्डी हुन मिल्दैन । घमण्डले बिरामीसँगको सम्बन्धमा तुषारापात हुन सक्छ ।
धेरैको मनमा आफूले गर्न नसकेको उपलब्धि अरूले गर्यो भने डाहाको आगो बल्न थाल्छ । बिनाकुनै घाउ वा चोटपटक नै पीडा हुन्छ । यसैलाई मात्सर्य वा ईर्ष्या भनिन्छ । ईर्ष्याले मानिसको बुद्धि ढाक्छ र विवेकशून्य गराउँछ । ईर्ष्याले मानिसमा केही गर्ने जाँगर चल्दैन । बरु कसरी अरूलाई ढाल्ने हो भन्ने मात्र मन लाग्छ । आफ्नो भलाइको राजमार्ग छाडेर मानिस अरूको कुभलोको गोरेटोतर्फ लाग्छ । जुन दिन जीवनमा विनाशको रातो बत्ती र होस आउँछ त्यतिबेला ज्यादै ढिलो भइसकेको हुन्छ । त्यतिबेला पीडाबाहेक केही हात लाग्दैन ।
आफ्नो जीवनलाई कसरी अध्यात्मतर्फ प्रेरित गर्ने भन्ने चर्चा गर्न गीताको यो प्रसंग कोट्याइएको हो । संसारमा जति पनि झैझगडा र कष्टहरू देखिन्छन् ती सब यिनै ६ तत्त्वमाथि नियन्त्रण राख्न नसक्दा नै भएका छन् । त्यसैले यी तथ्य चिकित्सालगायत जुनसुकै पेसाकर्मीका लागि उत्तिकै महत्त्वपूर्ण छन् ।
डा. भोला रिजालको पुस्तक ‘सेतो कोट’








