सुनसरी । प्रसव पीडामा रहेकी महिलालाई भर्ना नलिएको घटनाको सत्यतथ्य पत्ता लगाउन कोशी प्रदेश सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। घटनामा विवादमा तानिएका जिल्ला अस्पताल इनरुवा, सुनसरीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सन्तोषप्रसाद साहलाई पनि अस्पताल प्रमुखको जिम्मेवारीबाट हटाइएको छ।
गत असोज २१ गते राति प्रसव व्यथा लागेपछि सुनसरीको कोशी गाउँपालिका–३ की लालु सदालाई परिवारले जिल्ला अस्पताल इनरुवा पुर्याएका थिए। तर, आवश्यक कागजात नपुगेको र गर्भवतीको अवस्था उच्च जोखिममा रहेको भन्दै अस्पतालले भर्ना लिन नमानेको परिवारको आरोप छ। पीडित पक्षले अस्पतालले आवश्यक स्वास्थ्य परीक्षण र प्राथमिक उपचारसमेत नगरेको दाबी गरेको छ।
अस्पतालमा भर्ना नपाएपछि थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लैजाने क्रममा अस्पताल परिसरबाहिरै एम्बुलेन्समा लालुले शिशुलाई जन्म दिएकी थिइन्।
घटनाबारे छानबिन गर्न कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले प्रशासन महाशाखा प्रमुख (उपसचिव) को संयोजकत्वमा विषयविज्ञसहित पाँच सदस्यीय समिति गठन गरेको हो।
मन्त्रालयका जनस्वास्थ्य प्रशासक डा. सभ्यता पन्थीका अनुसार छानबिनलाई प्रभावित हुन नदिन निष्कर्ष नआएसम्मका लागि निमित्त मेसु साहलाई जिम्मेवारीबाट हटाइएको हो।
छानबिनका क्रममा अस्पताल प्रमुख, चिकित्सक, स्वास्थ्यकर्मी वा अन्य कर्मचारीको संलग्नता प्रचलित कानुनविपरीत देखिए कडा कारबाही गरिने मन्त्रालयले जनाएको छ।








