काठमाडौं, २५ असोज । गर्भावस्थामा हुने उच्च रक्तचाप र त्यसबाट निम्तिने जोखिमका कारण विश्वभर वषेर्ननी ४२ हजार गर्भवतिको मृत्यु हुने गरेको पाइएको छ ।
यसलाई लक्षित गर्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र साझेदार संस्थाहरूले गर्भावस्थामा हुने उच्च रक्तचापसम्बन्धी समस्या नियन्त्रणका लागि नयाँ विश्वव्यापी कार्ययोजना सार्वजनिक गरेका छन्। अक्टोबर ८, २०२६ मा घोषणा गरिएको योजनाले प्रि–एक्लाम्प्सियालगायतका जटिलताबाट हुने मातृ तथा नवजात मृत्यु घटाउन जाँच र उपचारको पहुँच विस्तारमा जोड दिएको छ।
डब्ल्यूएचओका अनुसार यस्ता समस्याले विश्वभर अनुमानित १०–१५ प्रतिशत गर्भावस्थामा जटिलता ल्याउँछ। कुल मातृमृत्युको करिब १६ प्रतिशतसँग उच्च रक्तचापको समस्या पाइन्छ । अन्ततः यसखाले समस्याबाट वर्षमा झन्डै ४२ हजार आमाको मृत्यु हुन्छ। साथै, पाँच लाखभन्दा बढी मरेका बच्चा जन्मिने तथा नवजात मै मृत्यु हुने अनुमान छ। यो तथ्याङ्क विश्वव्यापी अनुमान हो ।
धेरै देशमा रक्तचाप मापन, पिसाबमा प्रोटिन परीक्षण र आवश्यक औषधिको पहुँच अपर्याप्त छ। कमजोर रेफरल प्रणाली, दक्ष स्वास्थ्यकर्मीको अभाव र आकस्मिक प्रसूति सेवाको सीमितताले जीवनरक्षक उपचारमा ढिलाइ हुने गरेको डब्लुएचओले जनाएको छ ।
सन् २०२६–२०३५ र त्यसपछिका लागि तयार गरिएको कार्ययोजनामा अनुसन्धान, उपचारसम्बन्धी मार्गदर्शन, औषधि तथा परीक्षणको उपलब्धता र कार्यान्वयन समेटिएका छन्। न्यून तथा मध्यम आय भएका देशमा गुणस्तरीय सेवा विस्तारलाई प्राथमिकता दिइएको छ।
यस्ता समस्या भोगेका महिलामा प्रसूतिपछि पनि उच्च रक्तचाप, मुटुरोग, स्ट्रोक र मिर्गौलाको रोगको जोखिम बढ्न सक्छ। डब्ल्यूएचओले सरकार र स्वास्थ्य क्षेत्रका साझेदारलाई प्रभावकारी सेवा आवश्यक महिला र शिशुसम्म पुर्याउन आग्रह पनि गरेको छ।








