

काठमाडौँ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले नुवाकोटमा बाढी प्रभावित नागरिकलाई लक्षित गर्दै निःशुल्क मुटु स्वास्थ्य परीक्षण तथा परामर्श शिविर सञ्चालन गर्ने भएको छ।
केन्द्रको आयोजनामा नुवाकोटको विदुरस्थित देवीघाटमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा आगामी असोज २१ गते बुधबार बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म शिविर सञ्चालन हुने आयोजकले जनाएको छ।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गर्न लागिएको हो। शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञहरूले बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक परामर्श दिनेछन्।
शिविरमा मुटुको विद्युतीय जाँच (ईसीजी), मुटुको भिडियो एक्सरे (इको), रक्तचाप परीक्षण र रगतमा चिनीको मात्रा परीक्षण गरिनेछ। यसका साथै मुटुरोगीहरूको पुनः परीक्षण तथा चिकित्सकको सल्लाहअनुसार निःशुल्क औषधिसमेत वितरण गरिने आयोजकले जनाएको छ।
स्वास्थ्य परीक्षणका लागि आउने बिरामीलाई यसअघि गराएका स्वास्थ्य परीक्षणका रिपोर्ट तथा हाल सेवन गरिरहेका औषधिको विवरण सम्भव भएसम्म साथमा ल्याउन आग्रह गरिएको छ।



