

बाँके । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित थापा पोलिक्लिनिकमा उपचारका लागि गएकी एक बिरामीमाथि दुर्व्यवहार भएको आरोपसम्बन्धी घटनामा नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
परिषद्ले जारी गरेको विज्ञप्तिमा शनिबार भएको घटनाबारे अनलाइनमार्फत उजुरी प्राप्त भएको उल्लेख छ। उजुरीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै परिषद्ले घटनाको अनुसन्धान गरी सत्यतथ्य विवरण पेस गर्न पाँच सदस्यीय समिति गठन गरेको हो।
घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पीडितले प्रहरीमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारीले बताएका छन्।
प्रहरीका अनुसार जाहेरीका आधारमा कोहलपुर नगरपालिका–११ का ६३ वर्षीय गणेशबहादुर थापालाई नियन्त्रणमा लिइएको छ। थापा उक्त पोलिक्लिनिकका सञ्चालकसमेत रहेको र उनीसँग सीएमए प्रमाणपत्र मात्र रहेको प्रहरीले जनाएको छ। उपचारका लागि आवश्यक इजाजतसमेत उनीसँग नभएको प्रहरीको भनाइ छ।
प्रहरीले थापामाथि नेपाल मेडिकल काउन्सिलको ‘व्यावसायिक आचारसंहिता तथा आचरण, २०१७’ विपरीत काम गरेको आरोपसम्बन्धी पक्षमा समेत अनुसन्धान गरिरहेको जनाएको छ।
बाँके जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थापामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।



