

काठमाडौं । सन् २०२६ को चिकित्सा नोबेल पुरस्कार जर्मनीका वैज्ञानिक पिटर हेगेम्यान र जर्ज नागेल तथा अमेरिकाका कार्ल डाइसेरोथलाई प्रदान गरिएको छ ।
उनीहरूलाई मस्तिष्कका तन्त्रिका कोषिकाको गतिविधि प्रकाशको माध्यमबाट नियन्त्रण गर्न सकिने ‘अप्टोजेनेटिक्स’ प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएकोमा सम्मानित गरिएको हो ।
अप्टोजेनेटिक्स प्रविधिले प्रकाशको प्रयोग गरेर मस्तिष्कका अलग–अलग तन्त्रिका कोषिकालाई सक्रिय वा निष्क्रिय बनाउन सकिन्छ । यसबाट कुनै तन्त्रिका कोषिकाले मस्तिष्कमा के भूमिका निर्वाह गर्छ भन्ने अध्ययन गर्न वैज्ञानिकलाई सहज भएको छ ।
यसअघि मस्तिष्कमा रहेका कुन तन्त्रिका कोषिका कुन कामका लागि जिम्मेवार छन् भन्ने छुट्याउन वैज्ञानिकहरूलाई कठिन हुने गरेको थियो । अप्टोजेनेटिक्सको विकासपछि भने स्मरणशक्ति, भावना र व्यवहारसँग सम्बन्धित मस्तिष्कका गतिविधि अध्ययन गर्न नयाँ बाटो खुलेको छ । यो प्रविधिले डिप्रेसनलगायत मानसिक रोग तथा मस्तिष्कसँग सम्बन्धित अन्य रोगको अनुसन्धानमा समेत महत्त्वपूर्ण सहयोग पुर्याएको छ ।
नोबेल समितिका अनुसार यी तीन वैज्ञानिकको खोजले मस्तिष्कको कार्यप्रणाली बुझ्न अनुसन्धानको नयाँ क्षेत्र खोलिदिएको छ । अप्टोजेनेटिक्सको प्रयोग आँखासम्बन्धी रोगको अनुसन्धानमा समेत भइरहेको छ ।
वैज्ञानिकहरूले दृष्टि गुमाएका मानिसमा यो प्रविधिको प्रयोगबाट दृष्टि पुनःस्थापित गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा समेत अध्ययन गरिरहेका छन् ।



