

काठमाडौं । भारतमा औषधि निर्माता कम्पनी सिप्लाको गोदामको औषधि बिक्री तथा वितरण अनुमतिपत्र खारेज भएपछि नेपालमा समेत ठूलो कारोबार गर्ने उक्त कम्पनीको औषधि भण्डारण, गुणस्तर र नियमनमाथि प्रश्न उठेको छ।
महाराष्ट्रको खाद्य तथा औषधि प्रशासनले पुणेस्थित सिप्ला फार्मा एन्ड लाइफ साइन्सेस लिमिटेडको वाड्कीस्थित ‘गोदाम नम्बर ए’ को औषधि बिक्री तथा वितरण अनुमतिपत्र खारेज गरेको हो। सिप्ला फार्मा एन्ड लाइफ साइन्सेस औषधि निर्माता सिप्ला लिमिटेडको एकाइ हो।
खाद्य तथा औषधि प्रशासनका अनुसार चिकित्सकको सिफारिसमा मात्र बिक्री हुने ‘रेक्टिन प्लस’ नामक औषधिको प्याकेटमा अनुमति नपाएका प्रचार सामग्री तथा दाबी राखिएको भेटिएको थियो। गोदामको निरीक्षण गर्दा औषधि भण्डारण, अभिलेख व्यवस्थापन, मौज्दात मिलान, सरसफाइ तथा म्याद गुज्रिएका औषधिको व्यवस्थापनमा समेत कमजोरी भेटिएको थियो।
म्याद गुज्रिएका औषधिलाई ‘बिक्रीका लागि होइन’ भनेर छुट्टै चिन्ह लगाइएको स्थानमा नराखिएको, त्यसको व्यवस्थापनसम्बन्धी अभिलेख तथा कार्यविधि नभएको र पर्याप्त भण्डारण सामग्रीको अभावमा केही औषधि भुइँमै राखिएको नियामक निकायले जनाएको छ। त्यस्तै, खरिद तथा बिक्रीका बिलको अभिलेखमा समेत कमजोरी भेटिएको थियो। कम्प्युटरमा रहेको मौज्दात र गोदाममा रहेको वास्तविक औषधिको मौज्दातबीच फरकसमेत देखिएको थियो।
‘रेक्टिन प्लस’को प्याकेटमा उक्त औषधिलाई दुखाइ कम गर्ने औषधिका रूपमा प्रचार गर्दै टाउको, मांसपेशी, ढाड, जोर्नी, शरीर तथा दाँत दुखाइ कम गर्ने दाबी गरिएको थियो। प्याकेटमा मानव आकृतिसमेत प्रयोग गरिएको थियो। नियामक निकायले यस्ता दाबी र चित्रण कानुनी व्यवस्थाविपरीत रहेको भन्दै औषधिको गलत प्रचार गरिएको निष्कर्ष निकालेको छ।
भारतमा सिप्लामाथि भएको यो कारबाही भने एकाएक भएको होइन। बम्बे उच्च अदालतको निर्देशनअनुसार यसअघि सुरु गरिएको कारबाही फिर्ता लिएर खाद्य तथा औषधि प्रशासनले गत सेप्टेम्बर ४ मा कम्पनीलाई पुनः स्पष्टीकरण सोधेको थियो। कम्पनीले सेप्टेम्बर ११ मा लिखित जवाफ दिएको थियो भने सेप्टेम्बर २१ मा व्यक्तिगत सुनुवाइको अवसरसमेत पाएको थियो। कम्पनीको जवाफ, सुनुवाइ, निरीक्षण प्रतिवेदन तथा कानुनी व्यवस्थाको अध्ययनपछि अक्टोबर १ मा अनुमतिपत्र खारेज गर्ने नयाँ आदेश जारी गरिएको हो।
नेपालमा पनि सिप्ला ठूलो परिमाणमा औषधि बिक्री गर्ने बहुराष्ट्रिय कम्पनीमध्ये एक भएकाले भारतमा देखिएको घटनाले नेपालमा समेत औषधिको भण्डारण, गुणस्तर, प्याकेजिङ, अभिलेख र बजार अनुगमनको अवस्थामाथि प्रश्न उठिरहेको छ।
सिप्लाले नेपालमा श्वासप्रश्वाससम्बन्धी औषधिमा ठूलो बजार हिस्सा ओगटेको छ। गत आर्थिक वर्षमा सिप्लाले नेपालमा झण्डै २ अर्ब ५० करोड रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ। नेपालमा सबैभन्दा धेरै औषधि बिक्री गर्ने कम्पनीको सूचीमा सिप्ला नवौँ स्थानमा छ। त्यस्तै, नेपालमा धेरै औषधि बिक्री गर्ने बहुराष्ट्रिय कम्पनीमध्ये सिप्ला चौथो स्थानमा रहेको छ।
सिप्लाको नाम यसअघि नेपालमा नक्कली औषधिको घटनासँग समेत जोडिएको थियो। केही समयअघि सिप्लाकै नाममा बजारमा ‘सेरोफ्लो’ नामक नक्कली औषधि भेटिएको थियो। उक्त घटनाले चर्चित औषधि कम्पनीका नाम र ब्रान्ड प्रयोग गरेर बजारमा नक्कली औषधि पुग्ने जोखिमसमेत उजागर गरेको थियो।
भारतमा नियामक निकायले औषधिको प्याकेटमा गरिएको प्रचारदेखि भण्डारण र मौज्दात व्यवस्थापनसम्मका कमजोरी देखाउँदै सिप्लाको गोदामको अनुमतिपत्र नै खारेज गरेपछि नेपालमा पनि ठूलो कारोबार गर्ने औषधि कम्पनीमाथि नियमन कति प्रभावकारी छ भन्ने प्रश्न उठेको छ। सर्वसाधारणको स्वास्थ्यसँग प्रत्यक्ष जोडिने औषधिको गुणस्तर, भण्डारण र आपूर्तिको प्रत्येक चरणमा नियामक निकायको निगरानी थप कडा हुनुपर्ने देखिएको छ।



