

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले स्वास्थ्य सूचना विज्ञानका दक्ष जनशक्तिका लागि राष्ट्रिय स्तरमा रोजगारी तथा अवसर विस्तार गर्नुपर्ने बताएकी छन्। यस विषयलाई संसद् र सम्बन्धित निकायमा उठाउने प्रतिबद्धतासमेत उनले व्यक्त गरेकी छन्।
नेपाल हेल्थ इन्फर्मेटिक्स एसोसिएसन (एनएचआईए) ले काठमाडौंमा आयोजना गरेको ‘एनएचआईए कनेक्ट २०२६’ कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै डा. कार्कीले स्वास्थ्य सूचना विज्ञानका विज्ञका लागि अवसर सिर्जना गर्ने विषय राष्ट्रिय नीति तथा कार्यक्रममा समेटिनुपर्ने बताइन्।
उनले कार्यक्रममा भएका विभिन्न सत्र र छलफलबाट स्वास्थ्य सूचना विज्ञान क्षेत्रमा रहेका चुनौती, सम्भावना र आगामी प्राथमिकताबारे महत्वपूर्ण दृष्टिकोण तथा नयाँ विचार प्राप्त भएको बताइन्।
एसोसिएसनका अध्यक्ष दीपबहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य सूचना विज्ञान क्षेत्रमा कार्यरत पेशेवर, शैक्षिक संस्था, सरकारी निकाय तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता थियो।
कार्यक्रममा स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. सुवास प्याकुरेल, काठमाडौं विश्वविद्यालयका प्रा. रवीन्द्र बिष्ट, टेलिहेल्थ एक्सपर्टका रमेश भट्ट, एचसीएमएका अध्यक्ष डा. होमप्रसाद अधिकारी, स्वास्थ्य सेवा विभागको आईएचआईएमएसका शेषकान्त रानाभाट तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. नन्दबहादुर सिंहलगायत सहभागी थिए।
कार्यक्रमका वक्ताहरूले नेपालको स्वास्थ्य सूचना प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउन सरकारी, शैक्षिक तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। उनीहरूले दक्ष जनशक्ति विकास, अनुसन्धान तथा प्रविधिको प्रभावकारी प्रयोगमा समेत जोड दिए।
कार्यक्रममा डिजिटल स्वास्थ्य प्लेटफर्म, स्वास्थ्य तथ्यांकको उपयोग, स्वास्थ्य बिमा तथा स्वास्थ्य सेवा प्रवाहमा प्रविधिको भूमिका, स्वास्थ्य सूचना प्रणाली, दक्ष जनशक्ति विकास, अनुसन्धान तथा शैक्षिक र नीतिगत सुधारलगायतका विषयमा छलफल गरिएको थियो।
सहभागीहरूले स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता बढाउन डिजिटल स्वास्थ्यसम्बन्धी पहललाई राष्ट्रिय स्वास्थ्य रणनीति तथा नीतिसँग प्रभावकारी रूपमा जोड्नुपर्नेमा जोड दिए। स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन र डिजिटल रूपान्तरणलाई गति दिन सरकारी, शैक्षिक, निजी तथा प्राविधिक क्षेत्रबीचको सहकार्य थप सुदृढ गर्नुपर्ने उनीहरूको धारणा थियो।
आयोजकका अनुसार ‘एनएचआईए कनेक्ट २०२६’ ले स्वास्थ्य सूचना विज्ञानसँग सम्बन्धित सरोकारवालाबीच संवाद, ज्ञान आदानप्रदान र सहकार्यका लागि साझा मञ्च प्रदान गरेको छ। कार्यक्रममा भएका छलफल, अनुभव र सुझावले आगामी दिनमा अनुसन्धान, सहकार्य तथा दीर्घकालीन पहल अघि बढाउन आधार तयार गर्ने अपेक्षा आयोजकले गरेको छ।



