

काठमाडौं । मकवानपुरको कैलाश गाउँपालिका–१ डाँडाखर्कमा नेपाली औषधि कम्पनीले उत्पादन गरेको औषधिलाई ‘भारतीय’ भन्दै बिक्री गरिएको दाबी सार्वजनिक भएपछि औषधिको मूल्य र बिक्री प्रक्रियामाथि प्रश्न उठेको छ।
भूपेन्द्र मोक्तान तामाङले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार उनले डाँडाखर्कमा सञ्चालित एक मेडिकलबाट दुई प्रकारका औषधि खरिद गरेका थिए। औषधि लिएपछि उनले मेडिकल सञ्चालकलाई ‘पैसा कति भयो?’ भनेर सोध्दा ४०० रुपैयाँ भएको जवाफ पाएको उनको दाबी छ।
त्यसपछि औषधिको प्याकेटमा लेखिएको अधिकतम खुद्रा मूल्य (एमआरपी) हेर्दा एउटा औषधिमा १४५ रुपैयाँ र अर्कोमा ६० रुपैयाँ उल्लेख रहेको उनले बताएका छन्। दुवै औषधिको एमआरपी जोड्दा २०५ रुपैयाँ मात्रै हुने भए पनि आफूबाट ४०० रुपैयाँ लिइएको भन्दै उनले मेडिकल सञ्चालकसँग मूल्यबारे प्रश्न गरेका थिए।
त्यस क्रममा मेडिकल सञ्चालकले उक्त मूल्य ‘भारतीय मूल्य’ भएको जवाफ दिएको तामाङको दाबी छ। त्यसपछि उनले औषधिको प्याकेट हेर्दा ‘निर्माता : एसआर ड्रग ल्याबोरेटोरिज प्रालि., सतुंगल, काठमाडौं, नेपाल’ उल्लेख भएको भेटिएको बताएका छन्।
औषधि व्यवस्था विभागको अभिलेखअनुसार एसआर ड्रग ल्याबोरेटोरिज प्रालि नेपालमा दर्ता भएको स्वदेशी औषधि उद्योग हो। विभागको स्वदेशी औषधि उद्योगसम्बन्धी सूचीमा उक्त कम्पनी काठमाडौंमा रहेको औषधि उत्पादक उद्योगका रूपमा उल्लेख छ। कम्पनीको उत्पादन केन्द्र पनि सतुंगल, काठमाडौंमा रहेको जनाइएको छ।



