

धनगढी । सुदूरपश्चिम प्रदेशकै प्रमुख रेफर केन्द्रका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा २१ दिनदेखि सिटी स्क्यान सेवा बन्द हुँदा उपचारका लागि आउने बिरामी समस्यामा परेका छन्।
सिटी स्क्यान मेसिनको पार्टपुर्जा बिग्रिएपछि सेवा अवरुद्ध भएको अस्पताल प्रशासनले जनाएको छ। प्रदेशका नौवटै जिल्लाबाट उपचारका लागि बिरामी आउने सेती अस्पतालमा सिटी स्क्यान सेवा बन्द हुँदा विशेषगरी आर्थिक अवस्था कमजोर तथा विपन्न नागरिक थप समस्यामा परेका छन्।
अस्पतालमा दैनिक १ हजार २ सयदेखि १ हजार ५ सयसम्म बिरामीले विभिन्न सेवा लिँदै आएका छन्। तीमध्ये दैनिक करिब २० जनाले सिटी स्क्यान सेवा लिने गरेको अस्पतालको तथ्यांक छ। सिटी स्क्यान सेवा बन्द भएपछि अस्पतालमा उपचारका लागि आएका कतिपय बिरामी निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिरेर सेवा लिन बाध्य भएका छन्।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठका अनुसार जीई कम्पनीबाट खरिद गरिएको सिटी स्क्यान मेसिनको पार्टपुर्जा बिग्रिएपछि सेवा सञ्चालनमा समस्या आएको हो। बिग्रिएको पार्ट नेपालमा उपलब्ध नभएपछि विदेशबाट मगाउनुपरेको उनले बताए।
“बिग्रिएको पार्ट विदेशबाट ल्याउनुपर्ने भएकाले केही समय लागेको हो। पार्ट अहिले काठमाडौंसम्म आइपुगेको छ। अब एक साताभित्र मेसिन तयार भएर सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आउने छ,” श्रेष्ठले भने।
सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा २०७९ साल पुसदेखि सञ्चालनमा आएको हो। सेवा बन्द भएपछि अस्पतालमा उपचारका लागि पुगेका बिरामीले स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको गुनासो गरेका छन्। उनीहरूले अस्पतालमा पटक–पटक देखिँदै आएका समस्या तत्काल समाधान गर्नुपर्ने माग गरेका छन्।
सेवाग्राहीका अनुसार राजनीतिक नेतृत्वबाट अस्पतालको पटक–पटक निरीक्षण हुने गरे पनि समस्या समाधान र निर्णय कार्यान्वयनमा अपेक्षित सुधार हुन सकेको छैन। मुख्यमन्त्री खगराज भट्टले समेत सेती प्रादेशिक अस्पतालको अवस्था र समस्याबारे पटक–पटक निरीक्षण गरे पनि त्यसअनुसार सुधारको अनुभूति हुन नसकेको उनीहरूको गुनासो छ।
अस्पताल प्रशासनका अनुसार सिटी स्क्यान मेसिनमा आएको समस्यासँगै अस्पतालका विभिन्न वार्डमा आवश्यकताअनुसार दक्ष जनशक्तिको समेत अभाव छ। अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यकताअनुसार दक्ष जनशक्ति र स्रोतसाधन उपलब्ध गराउनुपर्ने प्रशासनको माग छ।
प्रदेशकै प्रमुख रेफर अस्पतालमा सिटी स्क्यानजस्तो अत्यावश्यक सेवा लामो समय बन्द हुँदा बिरामीलाई थप आर्थिक तथा उपचारसम्बन्धी समस्या भएको सेवाग्राहीको भनाइ छ। उनीहरूले सिटी स्क्यान सेवा तत्काल सञ्चालन गर्दै अस्पतालमा आवश्यक जनशक्ति र स्रोतसाधनको व्यवस्था गरी गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।



