

काठमाडौँ । आयुर्वेद चिकित्सा परिषद् नेपालले तोकिएको सेवा स्तर तथा सञ्चालन मापदण्ड पालना नगर्ने आयुर्वेद स्वास्थ्य संस्थामाथि कारबाही थालेको छ।
परिषद्ले नियमित निरीक्षण तथा स्थलगत अनुगमनका क्रममा काठमाडौँको बुढानीलकण्ठ–८, गणेश चोकमा सञ्चालित एक आयुर्वेद स्वास्थ्य संस्थाले तोकिएको मापदण्डअनुसार सेवा सञ्चालन नगरेको पाएपछि केही दिनअघि उक्त संस्था बन्द गराएको जनाएको छ।
परिषद्का रजिस्ट्रार डा. हरिशरण अर्यालद्वारा जारी सूचनामा तोकिएको मापदण्ड पूरा गरी सञ्चालन भएका आयुर्वेद स्वास्थ्य संस्थालाई प्रोत्साहन गरिने उल्लेख छ। तर, सुझाव दिँदासमेत अटेर गरी मापदण्डविपरीत सञ्चालन भइरहेका संस्थालाई क्रमशः बन्द गर्न परिषद् बाध्य हुने चेतावनी दिइएको छ।
परिषद्ले आयुर्वेद स्वास्थ्य संस्थाहरूलाई ‘सेवा स्तर तथा सञ्चालन मापदण्ड निर्देशिका’ अनुसार मात्रै सञ्चालन गर्न सबै संस्था सञ्चालकलाई आग्रह गरेको छ।
परिषद्ले नियमन तथा अनुगमनको क्रममा आवश्यक सहयोग गर्नसमेत सम्बन्धित स्वास्थ्य संस्था सञ्चालकलाई अपिल गरेको छ। मापदण्ड पालना नगर्ने संस्थामाथि आगामी दिनमा पनि निरीक्षण तथा अनुगमन गरी आवश्यक कारबाही गरिने परिषद्ले जनाएको छ।



