

काठमाडौँ । प्रोत्साहन भत्ता, समान सेवा–सुविधालगायत माग सम्बोधन नभएको भन्दै कर्णाली प्रदेशमा छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले चरणबद्ध आन्दोलन घोषणा गरेका छन्।
‘छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मी सङ्घर्ष समिति, कर्णाली प्रदेश’ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना मागप्रति पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि ठोस निर्णय नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको जनाएको हो।
समितिका संयोजक डा. विशाल कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा २४ घण्टे समयसीमा दिएर माग सम्बोधन गर्न आग्रह गरिए पनि त्यसको समेत बेवास्ता भएकाले आन्दोलन घोषणा गर्नुपरेको उल्लेख छ। समितिले आफ्ना माग तत्काल सम्बोधन गर्न नेपाल सरकार तथा सम्बन्धित सरोकारवाला निकायसँग माग गरेको छ।
आन्दोलनको पहिलो चरणअन्तर्गत असोज १६ देखि १९ गतेसम्म हरेक दिन बिहान ९ बजेदेखि ११ बजेसम्म दुई घण्टा धर्ना दिने र कालोपट्टी बाँधेर काम गर्ने कार्यक्रम तय गरिएको छ।
त्यसपछि दोस्रो चरणमा असोज २० र २१ गते बिहानको सिफ्टमा सञ्चालन हुने ओपीडीसहित गैरआकस्मिक सेवा बहिष्कार गर्ने समितिले जनाएको छ।
उक्त अवधिमा समेत माग सम्बोधन नभए अत्यावश्यक सेवाबाहेक अन्य सबै स्वास्थ्य सेवा ठप्प पारेर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी समितिले दिएको छ।
यद्यपि, आन्दोलनका क्रममा आकस्मिक, आईसीयू र प्रसूति सेवाहरू भने नियमित रूपमा सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ।
समितिले छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई समान सेवा–सुविधा उपलब्ध गराउन, प्रोत्साहन भत्ता प्रदान गर्नेलगायत आफ्ना जायज माग तत्काल सम्बोधन गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ।




