

महोत्तरी । सरकारी अस्पतालमा रेबिजविरुद्ध दिइने एन्टी रेबिज भ्याक्सिन (एआरभी) को अभाव हुँदा कुकुर तथा अन्य जनावरको टोकाइबाट पीडित बिरामी समस्यामा परेका छन् । स्याल, कुकुरलगायत जनावरको टोकाइका घटना बढ्दै गए पनि सरकारी स्वास्थ्य संस्थामै एआरभी खोप नहुँदा पीडितहरू निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिरेर उपचार गराउन बाध्य भएका हुन् ।
नेपालले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिज उन्मूलन गर्ने लक्ष्य लिएको छ । तर, सरकारी स्वास्थ्य संस्थामै एआरभी खोपको अभाव हुँदा विशेषगरी आर्थिक रूपमा कमजोर बिरामीलाई थप आर्थिक भार परेको छ ।
गत साता बिहान बजारबाट दूध किनेर घर फर्कंदै गरेका बर्दिबास नगरपालिका–२ का ७२ वर्षीय नीलप्रसाद गौतमलाई बर्दिबास–जलेश्वर सडकखण्डमा सेतो रङको भुस्याहा कुकुरले दाहिने खुट्टामा टोकेको थियो । केही बेरपछि बर्दिबासबाट बिस्कुट किनेर घर फर्किरहेकी वडा नम्बर १ की बालिका विनिता श्रेष्ठलाई पनि सोही कुकुरले टोकेको थियो ।
स्थानीयका अनुसार त्यसयता उक्त कुकुरले दर्जनभन्दा बढीलाई टोकेको छ । कुकुर अझै नियन्त्रणमा नआएकाले पीडितको सङ्ख्या थप बढ्न सक्ने स्थानीयको भनाइ छ ।
बर्दिबास अस्पतालको अभिलेखअनुसार रेबिजविरुद्धको खोप लगाउन आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र, जनकपुरले मागअनुसार खोप आपूर्ति नगर्दा भदौदेखि नै अस्पतालमा एआरभी सकिएको अस्पतालले जनाएको छ ।
अस्पतालको खोप शाखाका प्रमुख अर्जुन साहका अनुसार बर्दिबास अस्पतालमा रेबिजविरुद्धको खोप लगाउन वर्षमा करिब तीन हजार बिरामी आउने गर्छन् । एक जना बिरामीलाई सामान्यतया तीन डोज एआरभी आवश्यक पर्ने भएकाले मागअनुसार खोप उपलब्ध नहुँदा समस्या भएको उनले बताए ।
खोपको चरम अभाव भएपछि बर्दिबास नगरपालिकाले अस्पताललाई १०० भाइल एआरभी सहयोग गरेको थियो । तर, बिरामीको बढ्दो चापका कारण उक्त खोप पनि केही दिनमै सकिएको साहले बताए ।
चालु आर्थिक वर्ष २०८३/८४ को साउन र भदौमा मात्रै बर्दिबास अस्पतालमा कुकुर, स्याल, बिरालो र बाँदरले टोकेका ३५३ जना बिरामी उपचारका लागि आएका थिए । उनीहरूका लागि ५३० डोज एआरभी आवश्यक थियो । तर, स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रले दुई महिनामा जम्मा २४० भाइल एआरभी मात्र उपलब्ध गराएको थियो ।
मधेश प्रदेशका स्वास्थ्य सचिव डा. प्रमोदकुमार यादवका अनुसार महोत्तरीमा मात्र नभई प्रदेशभर नै रेबिजविरुद्धको खोप अभाव छ । उनका अनुसार मधेश प्रदेशमा वार्षिक ५० हजारभन्दा बढी एआरभी खोप आवश्यक पर्छ । तर, टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखाबाट बढीमा १५ देखि २० हजार डोज मात्र आपूर्ति हुने गरेको उनको भनाइ छ ।



