

काठमाडौं । आयुर्वेदिक औषधि तथा उपचारका नाममा विभिन्न जटिल रोग तत्काल निको हुने दाबी गर्दै गरिने भ्रामक प्रचारप्रसार रोक्न आयुर्वेद चिकित्सा परिषद्–नेपालले चेतावनी दिएको छ ।
परिषद्ले दर्ता नभएका औषधि बिक्री–वितरण गर्ने तथा क्यान्सर, पाइल्सलगायत रोगको नाम ठूला अक्षरमा उल्लेख गरेर उपचारसम्बन्धी भ्रम फैलाउने कार्य कानुनविपरीत रहेको जनाएको छ ।
परिषद्का अनुसार ‘चट्टै निको हुन्छ’, ‘निको नभए पैसा फिर्ता’ जस्ता दाबी गर्दै उपचार तथा औषधिको प्रचार गर्ने प्रवृत्तिले सर्वसाधारणलाई भ्रममा पार्न सक्ने भएकाले यस्ता गतिविधि तत्काल रोक्नुपर्नेछ ।
परिषद्ले यस्ता गतिविधिमा संलग्न व्यक्ति वा संस्थालाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र भ्रामक विज्ञापन तथा प्रचारप्रसार बन्द गर्न आग्रह गरेको छ ।
निर्देशनको बेवास्ता गरी गैरकानुनी गतिविधि जारी राखेको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थामाथि प्रचलित कानुनअनुसार कारबाही गरिने परिषद्ले जनाएको छ ।
आयुर्वेद चिकित्सा परिषद् ऐन, २०४५ अन्तर्गत गठित परिषद्ले आयुर्वेद चिकित्सा तथा औषधिसम्बन्धी गतिविधिको नियमन गर्दै आएको छ ।



