

काठमाडौँ – लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका वीर अस्पतालका दुई स्टाफ नर्सलाई अस्पताल प्रशासनले १५ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
अस्पतालले बुधबार जारी गरेको सूचनामा स्टाफ नर्स सातौँ तहकी सुनिता सिंह डङ्गोल र सुनिता थापालाई कार्यालयमा अनुपस्थित भएको विषयमा स्पष्टीकरण मागिएको हो। सूचनाअनुसार डङ्गोल २०८२ असोज १९ गतेदेखि र थापा २०७९ असोज २८ गतेदेखि कार्यालयमा अनुपस्थित छन्।
अस्पताल प्रशासनले स्वीकृत बिदाबिना लगातार ६० दिनभन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेको जनाउँदै उनीहरूमाथि विभागीय सजाय किन नगर्ने भन्ने विषयमा सफाइ पेस गर्न भनेको छ।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो स्पष्टीकरण पेस गर्न भनिएको छ। तोकिएको अवधिमा सफाइ पेस नगरेमा प्रचलित नियमावलीअनुसार आवश्यक विभागीय कारबाही अघि बढाइने अस्पतालले जनाएको छ।




