

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो संख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी देशका विभिन्न संघीय अस्पतालमा शवगृह निर्माण तथा क्षमता विस्तार गर्ने योजना अघि बढाएको छ।
मन्त्रालयका अनुसार १२ वटा संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकपटकमा कम्तीमा ५० वटा शव राख्न सक्ने क्षमताको शवगृह निर्माण वा विस्तार गरिनेछ।
यसअन्तर्गत कोशी अस्पताल, नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल र डडेलधुरा अस्पतालमा शवगृह निर्माण तथा क्षमता विस्तारको प्रक्रिया अघि बढाइने भएको छ।
त्यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कम्तीमा ५० शव व्यवस्थापन गर्न सक्ने क्षमताको शवगृह निर्माण वा विस्तार गरिने मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विगतका विपद्का क्रममा शव व्यवस्थापनमा देखिएका समस्या र पछिल्लो भोटेकोशी बाढीका बेला उत्पन्न चुनौतीलाई ध्यानमा राखेर अस्पतालमै पर्याप्त क्षमताको शवगृह आवश्यक रहेको बताएकी छन्।
उनका अनुसार विपद् व्यवस्थापनबाट प्राप्त सिकाइलाई आधार बनाएर भविष्यमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक पूर्वाधार विकास गर्न लागिएको हो।
मन्त्री मेहताले फरेन्सिक मेडिसिनको महत्व बढ्दै गएको अवस्थामा मेडिको–लिगलसम्बन्धी सेवा प्रभावकारी बनाउन पनि शवगृहको क्षमता विस्तार आवश्यक रहेको बताइन्।
विपद् पूर्वतयारी तथा प्रतिकार्य क्षमता सुदृढ गर्नुका साथै शव व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित, मर्यादित र वैज्ञानिक बनाउन तथा फरेन्सिक र मेडिको–लिगल सेवा विस्तारमा सहयोग पुर्याउने उद्देश्यले सरकारले यस्तो पूर्वाधार निर्माण गर्न लागेको हो।



