

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज रूपमा उपलब्ध गराउने विशेष व्यवस्था गरेको छ।
बोर्डले भदौ २२ गते गरेको निर्णयअनुसार रसुवाको ल्हेन्दे खोलामा भदौ १० गते आएको अप्रत्याशित बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई सरकारले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा स्वास्थ्य बीमा सेवामा सहजीकरण गरिएको हो।
सरकारले तीनै जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
बोर्डका अनुसार तोकिएको अवधिसम्म ती जिल्लाका स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा लिँदा लाग्ने सहभुक्तानी (को-पेमेन्ट) र क्यापिङको व्यवस्था हटाइएको छ।
त्यस्तै, बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा परिचयपत्र साथमा नभएको अवस्थामा पनि बीमितले सेवा लिन सक्नेछन्। परिचयपत्र नभएका बीमितको हकमा सेवा प्रदायक स्वास्थ्य संस्थाले IMIS-User प्रणालीमार्फत स्वास्थ्य बीमा नम्बर यकिन गरेर आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरिएको बोर्डले जनाएको छ।
विपद्बाट प्रभावित नागरिकलाई उपचार सेवा लिन सहज बनाउने तथा स्वास्थ्य बीमा सेवा निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो।
बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट तथा प्रवक्ता डा. पवनकुमार साहद्वारा जारी प्रेस विज्ञप्तिमा बाढी प्रभावित नागरिकको स्वास्थ्य उपचारमा सहजीकरण गर्न उक्त विशेष व्यवस्था लागू गरिएको उल्लेख छ।



