

काठमाडौं – भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवा र नुवाकोटमा उद्धार तथा पुनःस्थापनासँगै स्वास्थ्य संकटसमेत गहिरिँदै गएको छ। बाढीबाट विस्थापित भएर अस्थायी आश्रयस्थलमा बसिरहेका मानिसमा ज्वरो, खोकी र पेटसम्बन्धी संक्रमण देखिन थालेका छन् भने स्वास्थ्य सेवा प्रदान गर्ने संरचनासमेत ठूलो क्षतिमा परेका छन्।
पछिल्लो २४ घण्टामा रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका १२ जनामा ज्वरो तथा खोकी र एक जनामा पेटसम्बन्धी संक्रमण देखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। बाढी आएको भदौ १० गतेदेखि हालसम्म २० जनामा ज्वरो र चार जनामा पेटसम्बन्धी संक्रमण देखिएको छ।
विस्थापितहरू सीमित पानी, सरसफाइ र सुरक्षित खानेपानीको समस्याबीच बस्नुपर्दा पानीजन्य तथा संक्रामक रोग फैलिने जोखिम बढेको छ। यही अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य निकायले रोगको निगरानीसँगै उपचार र रोकथामका कार्यक्रमलाई तीव्रता दिएको छ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार प्रभावित क्षेत्रमा १३ वटा आकस्मिक स्वास्थ्य टोली परिचालन गरिएको छ। ती टोलीमा १७० स्वास्थ्यकर्मी छन्। दुर्गम तथा सडक सम्पर्क टुटेका क्षेत्रमा मोबाइल स्वास्थ्य टोलीमार्फत सेवा दिइँदै आएको छ। हालसम्म यस्ता टोलीबाट २७८ जनाले स्वास्थ्य सेवा लिएका छन्, जसमा २०२ महिला र ७६ पुरुष छन्।
बाढीपछि नियमित औषधि सेवन गर्नुपर्ने दीर्घरोगीलाई समेत उपचारमा समस्या भएको छ। आवश्यकताअनुसार उनीहरूलाई काठमाडौं ल्याउने व्यवस्था गरिएको छ। थुलोस्याफ्रुका दमका बिरामी ङवाङ नामग्याल तामाङलाई आइतबार नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो।
बाढीको प्रभाव शारीरिक स्वास्थ्यमा मात्रै सीमित छैन। आफन्त बेपत्ता भएपछि विस्थापित परिवारमा मानसिक तनाव र असहजता बढेको छ। बेपत्ता प्रहरी जवान आशिष गडारियाकी २९ वर्षीया श्रीमतीले आत्महत्याको प्रयाससमेत गरेकी थिइन्।
स्वास्थ्य मन्त्रालयका अनुसार विपद्पछि हालसम्म ४ हजार ८४४ जनाले मनोसामाजिक परामर्श तथा मानसिक स्वास्थ्य सेवा लिएका छन्। यसका लागि दुई जना मनोचिकित्सक, दुई जना मनोवैज्ञानिक र १२१ जना परामर्शदातासहित १५५ जनाको टोली परिचालन गरिएको छ।
विभिन्न संस्थाले पनि प्रभावित क्षेत्रमा मनोसामाजिक सहयोग गरिरहेका छन्। मेन्टल हेल्थ एन्ड काउन्सेलिङ सेन्टर नेपालले विदुर–८ स्थित भैरुम माध्यमिक विद्यालयमा २१९ जनालाई परामर्श दिएको छ। कोसिस नेपालले आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्रमा २७ जनालाई सेवा दिएको छ।
त्यस्तै, वान हर्ट वर्ल्डवाइडले विदुर–९ को सुलक्षण माध्यमिक विद्यालयमा ९६ र स्टार बोर्डिङ स्कुलमा ६० जनालाई तथा टीपीओ नेपालले त्रिशूली अस्पतालमा ४२ जनालाई मनोसामाजिक सेवा दिएको छ।
बाढी प्रभावित क्षेत्रमा हैजाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै २१ हजार डोज हैजाविरुद्धको खोप रसुवा पठाइएको छ। बालबालिकामा ज्वरो, झाडापखाला र खोकीको अवस्था नियमित निगरानी गर्न टोली परिचालन गरिएको छ। शव व्यवस्थापन र शव व्यवस्थापनपछि आवश्यक सरसफाइ तथा संक्रमण नियन्त्रणका लागि पनि छुट्टै टोली परिचालन गरिएको छ।
भदौ २० गते विदुर–३ स्थित सिरखालीमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २०० जनाले सेवा लिएका थिए। त्यसमध्ये १०१ जना ज्येष्ठ नागरिक थिए। उनीहरूमा ४८ महिला र ५३ पुरुष थिए। शिविरमा स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकको परामर्श र औषधि वितरणसँगै २५ जनालाई मनोसामाजिक परामर्शसमेत दिइएको थियो। नेपाली सेना र सशस्त्र प्रहरीका लागि पनि औषधि उपलब्ध गराइएको थियो।
बाढीको प्रत्यक्ष असर स्वास्थ्य संस्थामा समेत परेको छ। रसुवाका टिमुरे स्वास्थ्य चौकी, स्याफ्रुबेसी स्वास्थ्य चौकी, रसुवागढी हेल्थ डेस्क र मैलुङ सामुदायिक स्वास्थ्य एकाइ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
धादिङमा पोषण पुनःस्थापना केन्द्र र चरौंदी स्वास्थ्य केन्द्रको तल्लो तला बाढीले डुबाउँदा उपकरणमा क्षति पुगेको छ। बैरेनी अस्पताल र बैरेनी आयुर्वेद औषधालयमा पनि क्षति पुगेको छ। गोकर्णेश्वर–५ र उत्तरगया–१ का स्वास्थ्य शाखा तथा औषधि भण्डारसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
बाढीको चपेटामा परेर स्वास्थ्य क्षेत्रकै १२ कर्मचारी अझै सम्पर्कविहीन छन्। खम्बु बोहरा, सरिता मल्ल, सुस्मिता पाण्डे, कर्मा घले, विजयकुमार घले, गोविन्द यादव, बलराम न्यौपाने, प्रदीप न्यौपाने, ललितादेवी कुमाई, ममता श्रेष्ठ, दिनिशा शाही र प्रेरणा तामाङको अवस्था अझै पत्ता लाग्न सकेको छैन।
यसरी भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा तत्कालीन उद्धारको चरणसँगै स्वास्थ्य सेवा पुनःस्थापना, संक्रमण नियन्त्रण र विस्थापितको मानसिक स्वास्थ्य व्यवस्थापनसमेत ठूलो चुनौतीका रूपमा देखिएको छ।



