

काठमाडौं- भारतको औषधि नियामकले व्यापक रूपमा प्रयोग हुँदै आएको रेबिजविरुद्धको खोप ‘अभयराब’ को एक ब्याच गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै अनुसन्धान थालेको छ । सरकारी दस्तावेजलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार उक्त खोपको प्रभावकारिता परीक्षणमा असफल भएपछि ब्याचलाई गुणस्तरहीन तथा सम्भावित नक्कली खोपका रूपमा अनुसन्धान अघि बढाइएको हो ।
अनुसन्धानमा परेको खोप ‘अभयराब’ को ब्याच नम्बर KE25012 हो । भारतमा रेबिजका कारण हरेक वर्ष हजारौँ मानिसको मृत्यु हुने गरेको अवस्थामा यो खोप व्यापक रूपमा प्रयोग हुँदै आएको छ । पछिल्लो घटनासँगै दुई वर्षभन्दा कम अवधिमा ‘अभयराब’ को नक्कली खोपबारे दोस्रोपटक प्रश्न उठेको हो ।
‘अभयराब’ उत्पादन गर्ने कम्पनी इन्डियन इम्युनोलोजिकल्स लिमिटेडले भने नियामकले परीक्षण गरेको खोप आफ्नो कम्पनीले उत्पादन नगरेको जनाएको छ । कम्पनीका उपाध्यक्ष सुनिल तिवारीका अनुसार दिल्लीको मुखर्जी नगरस्थित अनुमति नभएको आवासीय स्थानबाट उक्त खोपको नमुना बरामद गरिएको थियो ।
भारतीय औषधि नियामकका अनुसार उक्त ब्याचको कुनै पनि खोप विदेश निर्यात गरिएको छैन । घटनासँग सम्बन्धित चार जनालाई दिल्ली प्रहरीले पक्राउ गरेको समेत नियामकले जनाएको छ ।
भारतको केन्द्रीय औषधि प्रयोगशाला, कसौलीले परीक्षण गर्दा उक्त खोपले प्रभावकारितासम्बन्धी मापदण्ड पूरा नगरेको पाइएको थियो । प्रयोगशालाले नमुनालाई ‘मानक गुणस्तर नभएको’ र ‘गलत लेबल लगाइएको’ औषधिका रूपमा वर्गीकरण गरेको सरकारी दस्तावेजमा उल्लेख छ ।
परीक्षणका क्रममा खोपको बाँझोपन, चिस्यान र पहिचानसम्बन्धी परीक्षण भने पास भएको थियो । तर, प्रयोगशालामा राखिएको कम्पनीको आधिकारिक नमुनासँग तुलना गर्दा लेबल, प्याकेजिङ, क्यूआर कोड, क्यापको रङ, लाइसेन्स विवरणलगायतमा उल्लेख्य फरक भेटिएको थियो ।
नियामकले यी भिन्नताले खोपको पहिचान र वास्तविकतामाथि गम्भीर प्रश्न उठाएको जनाएको छ । त्यसैले उक्त खोप भारतको औषधिसम्बन्धी कानुनअनुसार नक्कली हुन सक्ने विषयमा थप अनुसन्धान आवश्यक देखिएको हो ।
इन्डियन इम्युनोलोजिकल्सले आफ्नो कम्पनीले दुई दशकभन्दा बढी समयदेखि भारत तथा अन्य देशमा २१ करोडभन्दा बढी मात्रा ‘अभयराब’ आपूर्ति गरिसकेको जनाएको छ । कम्पनीका अनुसार प्रयोगशालाले अनुसन्धानका क्रममा बरामद नमुना र आधिकारिक रूपमा सुरक्षित राखिएको नमुनाबीच १७ वटा फरक भेटाएको छ ।
कम्पनीले ‘अभयराब’ को प्रत्येक ब्याच बजारमा पठाउनुअघि सरकारी परीक्षण हुने जनाएको छ । अस्पताल तथा अनुमति प्राप्त औषधि पसललगायत आधिकारिक माध्यमबाट वितरण भएका खोप भने यस घटनाबाट प्रभावित नभएको कम्पनीको दाबी छ ।
यसअघि जनवरी २०२५ मा पनि इन्डियन इम्युनोलोजिकल्सले ब्याच नम्बर KA24014 भएको नक्कली ‘अभयराब’ बजारमा आएको भन्दै भारतीय औषधि नियामकलाई जानकारी गराएको थियो । त्यसपछि अमेरिका, बेलायत र अस्ट्रेलियाका स्वास्थ्य निकायले भारतमा उक्त खोप लगाएका हुन सक्ने यात्रुहरूलाई सचेत गराएका थिए ।
भारतमा सन् २०२४ को एक अध्ययनअनुसार हरेक वर्ष करिब ५ हजार ७ सय २६ जनाको रेबिजका कारण मृत्यु हुने अनुमान गरिएको छ । ‘अभयराब’ रेबिजबाट बच्न संक्रमणअघि र संक्रमणको जोखिमपछि दुवै अवस्थामा प्रयोग गरिने खोप हो ।
हाल अनुसन्धानमा रहेको ब्याचबाट कति मात्रा बजारमा पुगेको थियो भन्ने खुलेको छैन । त्यस्तै, उक्त ब्याचको कुनै मात्रा विदेश निर्यात भएको थियो वा विदेशी नियामक निकायलाई जानकारी गराइएको थियो भन्नेबारे पनि सरकारी दस्तावेजमा उल्लेख छैन ।
इन्डियन इम्युनोलोजिकल्सले ‘अभयराब’ भारतसहित दक्षिण अफ्रिका, टर्की, भियतनाम, कम्बोडिया, जिम्बाब्वे, थाइल्यान्ड र संयुक्त अरब इमिरेट्सलगायत ४० भन्दा बढी देशमा निर्यात गर्दै आएको छ ।



