

काठमाडौँ – भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३९औँ कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ। सर्लाहीका ३७ वर्षीय बाल गोविन्द यादवलाई उनकी ३३ वर्षीया श्रीमती मिना कुमारी यादवले आफ्नो आधा कलेजो दान गरेकी हुन्।
प्रत्यारोपणपछि दाता मिना कुमारी आठौँ दिनमा र ग्रहणकर्ता बाल गोविन्द १०औँ दिनमा अस्पतालबाट डिस्चार्ज भएका छन्। दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको केन्द्रले जनाएको छ।
श्रीमानको जीवन बचाउन श्रीमतीले गरेको अंगदानलाई केन्द्रले मानवता र समर्पणको उत्कृष्ट उदाहरणका रूपमा लिएको छ। जीवित दाताबाट कलेजोको एक हिस्सा लिएर ग्रहणकर्तामा प्रत्यारोपण गरिएको हो।
केन्द्रले पछिल्लो समय कलेजो प्रत्यारोपण सेवामा समेत गति बढाएको छ। डेढ महिनाको अवधिमा मात्रै केन्द्रमा तीनवटा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएका छन्।
भदौको पहिलो साता केन्द्रले ३८औँ कलेजो प्रत्यारोपण गरेको थियो। त्यसबाट लाभान्वित बिरामी सफल उपचारपछि घर फर्किसकेका छन्। केन्द्रले आगामी सातासमेत अर्को अर्थात् ४०औँ कलेजो प्रत्यारोपण गर्ने तयारी गरेको जनाएको छ।
३९औँ प्रत्यारोपण डा. रोशन घिमिरे, डा. लोचन श्रेष्ठ, डा. रुजेन बज्राचार्य, डा. मिलन श्रेष्ठ र डा. अमित यादवसहितको चिकित्सकीय टोलीले सम्पन्न गरेको हो।
स्थापनाको १४ वर्षमा केन्द्रले हालसम्म १ हजार ६८० जनाको मृगौला र ३९ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ। केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठका अनुसार नेपालमा हुने कुल अंग प्रत्यारोपण सेवामध्ये करिब दुई तिहाइ सेवा यही केन्द्रले प्रदान गर्दै आएको छ।
स्वदेशमै नियमित र गुणस्तरीय कलेजो प्रत्यारोपण सेवा उपलब्ध हुन थालेपछि यसका लागि विदेश जानुपर्ने बाध्यता क्रमशः कम हुँदै गएको केन्द्रले जनाएको छ। पछिल्ला सफल प्रत्यारोपणले नेपालमै जटिल अंग प्रत्यारोपण सेवा विस्तार हुँदै गएको देखाएको छ।



