

काठमाडौं – ह्याम्स अस्पतालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ।
अस्पतालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। अस्पतालका प्रतिनिधिले बिहीबार आयोजित एक औपचारिक कार्यक्रममा २५ लाख रुपैयाँको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
सहयोग हस्तान्तरण गर्दै अस्पतालले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। अस्पतालले यसअघि नै बाढी प्रभावित नागरिकलाई आपत्कालीन स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने तथा आवश्यक परे चिकित्सकसहितको स्वास्थ्य टोली प्रभावित क्षेत्रमा पठाउने घोषणा गरेको थियो।
सरकारले विपद्पीडितका लागि प्राप्त हुने सहयोगलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत ‘एकद्वार प्रणाली’बाट व्यवस्थापन गर्ने व्यवस्था गरेको छ।



