

काठमाडौँ – भोटेकोशी बाढीपछि अस्वस्थकर खाना तथा दूषित पानीका कारण खाद्यविषाक्तता र पानीजन्य रोग फैलिन सक्ने जोखिम बढेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सतर्क रहन आग्रह गरेको छ।
विभागले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै आम उपभोक्ता, राहत वितरक तथा व्यवसायीलाई बाढी प्रभावित क्षेत्रमा खाद्य स्वच्छता र सुरक्षित खानेपानीमा विशेष ध्यान दिन अपिल गरेको हो।
विभागकी प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा खाद्य स्वच्छता कायम गर्न, निगरानी बढाउन तथा खाद्य वस्तुको गुणस्तर परीक्षण गर्न प्राविधिक टोली परिचालन गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा वितरण भइरहेका खाद्यान्न, प्रशोधित पिउने पानी तथा तयार भोजनको स्वच्छता अनुगमन गर्न राहत संकलन र वितरणस्थलमै पुगेर निरीक्षण भइरहेको विभागले जनाएको छ। बजार, भण्डारणस्थल तथा राहत शिविरमा समेत खाद्य वस्तुको गुणस्तर परीक्षणलाई तीव्र पारिएको छ।
बाढीको पानीले भिजेका, म्याद गुज्रेका वा दूषित खाद्य वस्तु स्थानीय प्रशासनसँगको समन्वयमा जफत गरी नष्ट गर्ने काम भइरहेको विभागले जनाएको छ।
विभागले बाढीले बगाएर ल्याएका वा बाढीमा परी मरेका माछा, पशुपन्छी तथा अन्य खाद्य वस्तु संकलन वा उपभोग नगर्न समेत आग्रह गरेको छ। यस्ता वस्तुमा जैविक तथा रासायनिक विषाक्तताको जोखिम हुन सक्ने विभागको भनाइ छ।
बाढीका कारण खानेपानीका मुहानसमेत दूषित हुन सक्ने भएकाले पानी राम्ररी उमालेर मात्र पिउन विभागले आग्रह गरेको छ। साथै, बाढीले भिजेका बोरा वा प्याकेटमा रहेका चामल, दाल, पिठोलगायत खाद्यान्न तथा म्याद सकिएका, बासी वा झिंगा भन्केका खाना प्रयोग नगर्न सचेत गराइएको छ।
खाना बनाउनुअघि, खाना खानुअघि र शौचालय प्रयोग गरेपछि साबुनपानीले हात धुन पनि विभागले आग्रह गरेको छ।
राहत वितरक तथा व्यवसायीले वितरण गर्ने खाद्य सामग्री ताजा, सुरक्षित र उपभोग्य मिति बाँकी रहेको हुनुपर्ने विभागले जनाएको छ। खाद्यान्नलाई ओस, बाढीको पानी तथा कीटनाशक विषादीबाट जोगाउँदै ओभानो र सुरक्षित स्थानमा भण्डारण गर्नसमेत आग्रह गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा अस्वस्थकर वा दूषित खाद्य सामग्री बिक्री–वितरण भएको पाइएमा अथवा खाद्य स्वच्छतासम्बन्धी कुनै गुनासो भएमा विभाग वा मातहतका कार्यालयमा सम्पर्क गर्न सकिने विभागले जनाएको छ।



