

काठमाडौँ – श्रीमतीलाई बचाउन आफ्नै मिर्गौला दिन तयार भएका राजकुमार डंगोलको जीवनमा भोटेकोशी–त्रिशूली बाढीले अर्को ठूलो संकट थपिदियो। श्रीमती विष्णु कुमारीको मिर्गौला प्रत्यारोपणका लागि वर्षौँदेखि जुटाएको रकम र सम्पत्तिसमेत बाढीले बगाएपछि उनी निराश बनेका थिए।
श्रीमतीको उपचारका लागि राजकुमार लामो समयदेखि काठमाडौंस्थित केएमसी अस्पताल धाइरहेका थिए। उपचार खर्च जुटाउन उनले विभिन्न व्यक्तिसँग सहयोग माग्नुका साथै ऋणसापटी, पसलको आम्दानी, सुनचाँदी र परिवारका सदस्यले जम्मा गरेको रकमसमेत जोडेर करिब २५ देखि ३० लाख रुपैयाँ बराबरको रकम तथा सम्पत्ति जुटाएका थिए।
त्यसमध्ये करिब १५ लाख रुपैयाँ नगद घरमै राखिएको थियो। तर बेत्रावती बजारमा आएको विनाशकारी बाढीले उनको घरबारसँगै श्रीमतीको उपचारका लागि छुट्याएको उक्त रकमसमेत बगाइदियो।
त्रिशूली नदी आफ्नो बस्तीभन्दा निकै तल रहेकाले बजारसम्मै यति ठूलो बाढी आउला भन्ने उनले कल्पनासमेत गरेका थिएनन्। करिब दुईदेखि सवा दुई घण्टामा त्रिशूली पुगेका डंगोलले ढुङ्गेको प्रहरी चौकीबाट तल झर्दा बाढीको पानी त्यहाँसम्मै पुगेको देखे।
त्यसपछि उनको मनमा पहिलोपटक श्रीमतीको प्रत्यारोपणका लागि जम्मा गरेको रकमको चिन्ता पस्यो।
“दुःखसुख गरेर राखेको पैसा बाढीले लग्यो कि भन्ने डर लाग्यो। पैसा सबै बग्यो भने बूढीको ट्रान्सप्लान्ट गर्न पनि सक्दिनँ भन्ने भयो,” उनले भने।
अन्ततः उनको डर वास्तविकतामा परिणत भयो। उपचारका लागि वर्षौँदेखि जुटाएको रकम बाढीले बगाएपछि श्रीमतीको जीवन कसरी बचाउने भन्ने चिन्ताले उनलाई थप पिरोल्यो। एकातिर जन्मथलो बगरमा परिणत भएको पीडा थियो भने अर्कोतिर बिरामी श्रीमतीको उपचारको जिम्मेवारी।
“एकातिर बाढीको पीडा थियो, अर्कोतिर श्रीमती पहिल्यै बिरामी थिइन्। श्रीमती कसरी बचाउने भन्ने मात्रै दिमागमा आयो,” डंगोलले भने।
राजकुमारको पीडा पत्रकार रविन घलेले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि उनको परिवारलाई सहयोग जुटाउने अभियान सुरु भयो। त्यसपछि विभिन्न क्षेत्रबाट सहयोगका लागि पहल हुन थाल्यो।
यसै क्रममा चिकित्सक डा. सुनिल शर्माले विष्णु कुमारीको मिर्गौला प्रत्यारोपण निःशुल्क गरिदिने प्रतिबद्धता जनाए। प्रत्यारोपणका लागि लाग्ने ठूलो खर्च चिकित्सकबाटै सहयोग हुने भएपछि निराश परिवारमा पुनः आशा पलाएको राजकुमारले बताए।
त्यसैगरी विभिन्न व्यक्तिबाट प्राप्त सहयोगबाट हालसम्म करिब ५–७ लाख रुपैयाँ संकलन भएको उनले जानकारी दिए। श्रीमतीको उपचारका लागि आवश्यक रकम जुट्ने अवस्था बनेपछि राजकुमारले अब आफूलाई भन्दा बाढीबाट थप पीडित बनेका गाउँलेलाई सहयोग गर्न अपिल गरेका छन्।
“मलाई भन्दा पनि मेरो गाउँमा पीडामा परेका दाजुभाइलाई सहयोग गरिदिनुहोस्,” उनले भने।
बाढीले बेत्रावती क्षेत्रका धेरै परिवारले घर, सम्पत्ति, आफन्त र जीविकोपार्जनका आधार गुमाएको भन्दै तत्कालको राहतले मात्रै उनीहरूको समस्या समाधान नहुने राजकुमारको भनाइ छ।
आफ्नो घर र सम्पत्तिसँगै श्रीमतीको उपचारका लागि वर्षौँदेखि जुटाएको आर्थिक आधार गुमाए पनि चिकित्सक, पत्रकार, गाउँका दाजुभाइ र विभिन्न व्यक्तिको सहयोगले अहिले परिवारमा फेरि आशा पलाएको उनले बताए।
“मलाई अहिले धेरै सहयोग आवश्यक छैन। मेरो उपचार र प्रत्यारोपणका लागि सहयोग प्राप्त भएको छ। गाउँमा भने धेरै परिवार घरबारविहीन र आफन्तविहीन भएका छन्,” उनले भने।
श्रीमतीको मिर्गौला प्रत्यारोपणको तयारी भइरहेकाले आफू गाउँ फर्कन नसकेको उनले बताए। चिकित्सकले संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन र रुघाखोकी वा ज्वरो आए प्रत्यारोपण प्रभावित हुनसक्ने भन्दै सावधानी अपनाउन सुझाव दिएको उनको भनाइ छ।
आफ्नो कठिन समयमा साथ दिने पत्रकार रविन घले, डा. सुनिल शर्मा, डा. सुरेश महर्जन, डा. विजयमान सिंह कटवाल, गाउँका दाजुभाइ तथा सहयोग गर्ने सबैप्रति उनले आभार व्यक्त गरेका छन्।
आफूले संकटमा सहयोग पाएको अनुभव सुनाउँदै राजकुमारले अब आफूभन्दा बढी पीडामा रहेका गाउँलेका लागि सहयोग गर्न सबैलाई आग्रह गरेका छन्। कठिन परिस्थितिमा पनि उनले “मरे पनि सँगै मरौँला, बाँचे पनि सँगै बाँचौँला” भन्ने भावनाका साथ श्रीमतीको उपचारसँगै बाढीपीडित गाउँलेको पक्षमा आवाज उठाइरहेका छन्।



