

भोजपुर – ग्रामीण क्षेत्रमा विषालु गोमन सर्प देखिन थालेपछि भोजपुरका स्थानीयवासीमा त्रास बढेको छ। पछिल्लो समय पौवादुङमा गाउँपालिका–३ मार्से र अरुण गाउँपालिका–५ याकुको होङरायो क्षेत्रमा गोमन सर्प देखिएको स्थानीयले बताएका छन्।
पौवादुङमा गाउँपालिका–३ का स्थानीय सन्तोष कोइरालाका अनुसार मार्से गाउँमा गोमन सर्प देखिएपछि स्थानीय डराएका छन्। खेतीपातीको कामसँगै घाँसदाउरा गर्न वन तथा खेतबारीमा जानेहरूलाई सर्पको जोखिम बढेको उनले बताए।
“विगतका वर्षमा यस्तो सर्प देखेका थिएनौँ। अहिले गाउँघरमै गोमन देखिन थालेपछि त्रास बढेको छ,” कोइरालाले भने। स्थानीयका अनुसार विशेषज्ञले गाउँमा फेला परेको सर्प गोमन भएको पुष्टि गरेका छन्।
खेतीपातीको समय भएकाले खेतबारी, झाडी तथा घाँसे क्षेत्रमा सर्प देखिन थालेपछि स्थानीयलाई थप सतर्कता अपनाउनुपर्ने अवस्था आएको छ। विशेषगरी गोमनजस्तो विषालु सर्पको टोकाइले गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्ने भएकाले स्थानीयले सर्पदंशसम्बन्धी जनचेतना र उपचारको व्यवस्था प्रभावकारी बनाउन माग गरेका छन्।
स्थानीयवासीले खेतबारी तथा वन क्षेत्रमा काम गर्दा सावधानी अपनाउन, झाडी तथा सम्भावित सर्प लुक्ने स्थानमा हातखुट्टा नहाल्न र सर्पले टोकेमा तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न आग्रह गरेका छन्।



