

काठमाडौँ- भक्तपुर क्यान्सर अस्पतालले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रका क्यान्सर बिरामीको निःशुल्क उपचार गर्ने भएको छ।
गत भदौ १० गते आएको विनाशकारी बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवा, नुवाकोट र धादिङका नदी किनार क्षेत्रका क्यान्सर बिरामीलाई अस्पतालले उपचारमा विशेष सुविधा उपलब्ध गराउने जनाएको हो।
अस्पतालका निर्देशक डा. उज्वल चालिसेका अनुसार बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई बेड शुल्क, प्रयोगशाला परीक्षण तथा अक्सिजन शुल्क निःशुल्क गरिनेछ। अस्पतालमा उपलब्ध भएसम्म आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइने उनले बताए।
भक्तपुर क्यान्सर अस्पतालले यसअघि नै क्यान्सर बिरामीका लागि १० प्रतिशत बेड तथा उपचार सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ। बाढी प्रभावित बिरामीका लागि भने थप सहुलियतसहित उपचार सेवा उपलब्ध गराउने अस्पतालले जनाएको छ।
त्यस्तै विपन्न, असहाय तथा बेसहारा बिरामीले नेपाल सरकारबाट उपलब्ध हुने क्यान्सर उपचारसम्बन्धी सुविधा लिन सक्नेछन्। स्वास्थ्य बीमा, प्रदेश सरकारबाट प्राप्त हुने सुविधा तथा अस्पतालको सामाजिक सेवा इकाईमार्फत उपलब्ध सहुलियतसमेत लिन सकिने अस्पतालले जनाएको छ।
उपचारसम्बन्धी सुविधा लिन चाहने बिरामी तथा आफन्तलाई अस्पतालको सामाजिक सेवा इकाई वा प्रशासन शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ। अस्पताल प्रशासनले जारी गरेको सूचनामा सुविधा लिनका लागि सम्पर्क गर्ने व्यक्तिको पद र सम्पर्क नम्बरसमेत उल्लेख गरेको छ।
भोटेकोशी–त्रिशूली बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि स्वास्थ्य क्षेत्रसँग सम्बन्धित संस्था तथा व्यक्तिहरूले आर्थिक, भौतिक, औषधि तथा उपचार सहयोग घोषणा गर्ने क्रम जारी छ।
भक्तपुर क्यान्सर अस्पतालले घोषणा गरेको निःशुल्क उपचार सेवाबाट बाढी प्रभावित क्षेत्रका उपचाररत क्यान्सर बिरामीलाई आर्थिक भार कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।




