

काठमाडौं – भोटेकोशी बाढीपछि शव व्यवस्थापनमा खटिएका प्रहरी, स्वास्थ्यकर्मी तथा स्वयंसेवकको सुरक्षाका लागि व्यक्तिगत सुरक्षा सामग्री र संक्रमण नियन्त्रणका सामग्री उपलब्ध गराइएको छ।
‘प्रारम्भ नेपाल’ सामाजिक संस्थाले शव व्यवस्थापनमा खटिने जनशक्तिका लागि पीपीई, एयर फिल्टर मास्क, फिनेल र ब्लिचलगायतका सामग्री हस्तान्तरण गरेको हो। शव व्यवस्थापनका क्रममा आवश्यक स्वास्थ्य तथा सुरक्षा सामग्रीको अभाव रहेको जानकारी पाएपछि सहयोग गरिएको संस्थाकी अध्यक्ष कल्पना क्षेत्रीले बताइन्।
धादिङ, नुवाकोट, चितवन तथा काठमाडौंको त्रिवि शिक्षण अस्पताललगायतका स्थानमा बाढीपछि फेला परेका शवको व्यवस्थापन भइरहेको छ। नेपाल प्रहरीका शव व्यवस्थापन संयोजक डीआईजी ओमबहादुर रानासँगको समन्वयमा सामग्री हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।
प्रारम्भ नेपालले शव व्यवस्थापनमा खटिने जनशक्तिका लागि २५ थान पीपीई उपलब्ध गराएको छ। तीमध्ये १२ थान पुनः प्रयोग गर्न मिल्ने र १३ थान नियमित पीपीई रहेका छन्। बाक्लो तथा डबल टेपिङ गरिएको पुनः प्रयोग गर्न मिल्ने पीपीईले दुर्गन्ध तथा सम्भावित संक्रमणबाट कामदारलाई थप सुरक्षा दिने अपेक्षा गरिएको छ।
त्यस्तै, अत्यधिक दुर्गन्ध तथा संक्रमणको जोखिम भएका स्थानमा काम गर्ने प्रहरी, स्वास्थ्यकर्मी र स्वयंसेवकका लागि २० थान एयर फिल्टर मास्क उपलब्ध गराइएको छ। सिंगापुर रेडक्रसमार्फत प्राप्त ती मास्क सर्जिकल मास्कमाथि समेत प्रयोग गर्न मिल्ने जनाइएको छ।
शवको पहिचान गर्ने, तस्बिर खिच्ने तथा व्यवस्थापन गर्ने क्रममा विभिन्न स्वास्थ्य तथा सुरक्षा जोखिम हुन सक्ने भएकाले त्यस्ता काममा खटिएका जनशक्तिको सुरक्षालाई प्राथमिकतामा राखिएको अध्यक्ष क्षेत्रीले बताइन्।
संस्थाले शव व्यवस्थापनस्थलको सरसफाइ तथा संक्रमण नियन्त्रणका लागि १०० लिटर फिनेल र २० लिटर ब्लिचसमेत उपलब्ध गराएको छ। प्रारम्भका कार्यक्रम व्यवस्थापक बद्रीराज तिमल्सिनाका अनुसार फिनेल मुख्यतः दुर्गन्ध नियन्त्रणका लागि प्रयोग हुन्छ भने ब्लिच संक्रमण नियन्त्रण तथा निर्मलीकरणका लागि उपयोग गरिन्छ।
शव व्यवस्थापनस्थलमा आवश्यकता हेरेर सरसफाइ, दुर्गन्ध नियन्त्रण तथा संक्रमणको जोखिम न्यूनीकरणका लागि यी सामग्री प्रयोग गरिने उनले बताए।
शव व्यवस्थापनमा खटिएका प्रहरी, स्वयंसेवक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक अन्य सामग्रीसमेत उपलब्ध गराउने तयारी संस्थाले गरेको छ। तिमल्सिनाका अनुसार त्यहाँ खटिएका जनशक्तिका लागि खानेपानी, सर्जिकल मास्क, स्प्रे तथा खानपानलगायतका सामग्री आवश्यक रहेको जानकारी प्राप्त भएको छ।
‘अहिले आवश्यक देखिएका सामग्री उपलब्ध गराएका छौँ। त्यहाँ खटिएका प्रहरी, स्वयंसेवक र स्वास्थ्यकर्मीबाट थप आवश्यकता आए त्यसअनुसार सामग्री उपलब्ध गराउने तयारीमा छौँ,’ उनले भने।
बाढी तथा अन्य विपद्का बेला राहत वितरणमा खाद्यान्नलगायतका सामग्रीलाई प्राथमिकता दिइने भए पनि शव व्यवस्थापनजस्तो संवेदनशील काममा खटिने जनशक्तिका लागि व्यक्तिगत सुरक्षा सामग्री, संक्रमण नियन्त्रणका साधन तथा दुर्गन्ध व्यवस्थापनका सामग्रीको पनि उत्तिकै आवश्यकता पर्ने देखिएको छ।
प्रारम्भ नेपालले स्थानीय आवश्यकता र सम्बन्धित निकायबाट प्राप्त मागका आधारमा आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने जनाएको छ।



