

काठमाडौँ – विनाशकारी बाढीपछि विस्थापित भएर होल्डिङ सेन्टरमा बसिरहेका प्रभावितहरूमा तनाव, चिन्ता, उदासीनता, डर र बारम्बार रुनेजस्ता मनोसामाजिक समस्या देखिन थालेका छन्। मनोविद् तथा परामर्शदाताहरूका अनुसार परिवारको जिम्मेवारी सम्हालिरहेका व्यक्तिहरूमा विपद्को मनोवैज्ञानिक असर अझ बढी देखिएको छ।
नुवाकोटको विदुर नगरपालिका–४ स्थित होल्डिङ सेन्टरमा कार्यरत मनोपरामर्शदाता सुशीला पोखरेलका अनुसार प्रभावितमध्ये अधिकांशमा भविष्यप्रतिको डर र अनिश्चितता देखिएको छ। बाहिरबाट सामान्य देखिए पनि कुराकानी गर्दै जाँदा उनीहरूमा गहिरो मानसिक पीडा रहेको पाइएको उनको अनुभव छ।
भूकम्प, बाढीपहिरो तथा कोरोना महामारीको असरबाट पूर्णरूपमा बाहिरिन नपाउँदै फेरि ठूलो विपद् भोग्नुपर्दा प्रभावितको अवस्था थप जटिल बनेको उनले बताइन्। घर, सम्पत्ति र जीविकोपार्जनसँगै आफन्तसमेत गुमाएका कारण कतिपय व्यक्ति गहिरो आघातमा रहेको उनको भनाइ छ।
तर विपद्पछि देखिने हरेक मानसिक प्रतिक्रिया तत्कालै मानसिक रोगको संकेत भने नहुने विज्ञहरूले बताएका छन्। कान्ति अस्पतालका क्लिनिकल साइकोलोजिस्ट अन्जनकुमार ढकालका अनुसार सबै कुरा गुमाएका मानिसमा केही समय अशान्ति, व्यग्रता, अन्योल र डर देखिनु स्वाभाविक प्रतिक्रिया हो।
उनका अनुसार यस्तो अवस्था केही समयपछि क्रमशः कम हुँदै गए सामान्य मान्न सकिन्छ। तर हप्तौँसम्म चिन्ता र बेचैनी कायम रहने, दैनिक जीवनमा फर्किन कठिन हुने वा समस्या झन् बढ्दै जाने अवस्था आएमा मानसिक स्वास्थ्य विशेषज्ञको सहयोग लिन आवश्यक हुन्छ।
विज्ञहरूले विपद्पछि मानसिक स्वास्थ्यमा परेको असर तत्कालै मात्र नभई केही समयपछि पनि देखिन सक्ने बताएका छन्। त्यसैले प्रभावितलाई खाद्यान्न, लत्ताकपडा, सरसफाइ तथा सुरक्षित बसोबासजस्ता आधारभूत आवश्यकता पर्याप्त रूपमा उपलब्ध छ कि छैन भन्ने विषयमा समेत ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म बाढी प्रभावित १ हजार २३९ जनालाई मनोसामाजिक प्राथमिक उपचार, परामर्श तथा मानसिक स्वास्थ्य सेवा प्रदान गरिएको छ। प्रभावित क्षेत्रमा परिचालित जनशक्तिमा एक जना मनोचिकित्सक, एक जना मनोविद् र ६३ जना परामर्शदाता रहेका छन्।
मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रभावित नुवाकोटका १२ वटा होल्डिङ सेन्टरमा मात्रै ४५ जना जनशक्ति परिचालन गरिएको छ। ती टोलीले हालसम्म १ हजार १७६ जनालाई मनोसामाजिक तथा मानसिक स्वास्थ्यसम्बन्धी सेवा दिएका छन्।
होल्डिङ सेन्टरमा खटिएका परामर्शदाताले प्रभावितको अवस्था बुझ्ने, उनीहरूसँग कुराकानी गर्ने, तत्काल आवश्यक मनोवैज्ञानिक प्राथमिक उपचार दिने र थप सेवाको आवश्यकता देखिए सम्बन्धित विशेषज्ञसँग समन्वय गर्ने गरेका छन्। मानसिक स्वास्थ्यसम्बन्धी औषधि पहिलेदेखि प्रयोग गरिरहेका व्यक्तिलाई समेत आवश्यकताअनुसार मनोचिकित्सकसँग भेट गराउने गरिएको छ।
कहिले लिनुपर्छ मनोपरामर्श ?
वरिष्ठ मनोचिकित्सकहरूका अनुसार विपद्पछि व्यक्तिमा घटना स्वीकार गर्न नसक्ने अवस्था, आक्रोश, छटपटी, निद्रा नलाग्ने, आफूले गुमाएको कुराप्रति निराश हुने तथा भयावह घटनाको सम्झना पटक–पटक आउनेजस्ता प्रतिक्रिया देखिन सक्छन्।
यस्ता समस्या लामो समयसम्म कायम रहेमा वा दैनिक जीवनमा असर पार्न थालेमा मनोसामाजिक तथा मानसिक स्वास्थ्य सेवा लिनुपर्ने विज्ञहरूको सुझाव छ।
बाढी प्रभावितलाई सहयोग गर्ने क्रममा उनीहरूले भोगेको घटनालाई पटक–पटक सम्झाउन खोज्ने, घटनाबारे अनावश्यक प्रश्न गर्ने वा झुटो आश्वासन दिने काम नगर्न पनि मनोविद्हरूले आग्रह गरेका छन्।
‘तपाईं त बाँच्नुभयो नि’, ‘तपाईंलाई त केही भएको रहेनछ’ वा ‘हरेक घटनाको कारण हुन्छ’ जस्ता वाक्यले पीडितको पीडा थप बढाउन सक्ने भएकाले त्यस्ता कुरा नगर्न विज्ञहरूको सुझाव छ।
बरु प्रभावित व्यक्तिले आफ्नो कुरा गर्न चाहे ध्यानपूर्वक सुन्ने, नचाहेको अवस्थामा विगतको घटना कोट्याएर प्रश्न नगर्ने र उनीहरूलाई दैनिक क्रियाकलापमा फर्किन सहयोग गर्नुपर्ने मनोविद् ढकाल बताउँछन्।
विशेषगरी केही हप्ता बितिसक्दा पनि घटनाप्रतिको डर र चिन्ता कम नहुने, खानपान तथा निद्रामा समस्या देखिने, निरन्तर नकारात्मक सोच आउने वा सामान्य दैनिकीमा फर्किन नसक्ने अवस्था देखिएमा आफैँ, परिवारका सदस्य वा नजिकका व्यक्तिले मानसिक स्वास्थ्य सेवाका लागि पहल गर्नुपर्ने विज्ञहरूको सुझाव छ।
त्यसका लागि सरकारले ११५५ नम्बरमा सातै दिन चौबीसै घण्टा मनोसामाजिक तथा मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा उपलब्ध गराइरहेको जनाएको छ।



