

र्दिबास- महोत्तरीको बर्दिबास नगरपालिका–५ सहित चुरे क्षेत्रका विभिन्न बस्तीमा दुई सातादेखि भाइरल ज्वरो फैलिएको छ। निरन्तर वर्षा, बाढी र पहिरोका कारण स्वास्थ्य सेवामा पहुँच कठिन हुँदा सयौँ परिवार प्रभावित भएका छन्।
भौगोलिक रूपमा विकट चुरे क्षेत्रका बिरामी उपचारका लागि करिब ३० किलोमिटर टाढा रहेको बर्दिबास पुग्नुपर्ने बाध्यतामा छन्। त्यसमध्ये करिब १० किलोमिटर खोलाको बाटो भएकाले दैनिक आउने बाढीले बिरामीलाई स्वास्थ्य संस्थासम्म पुग्न समस्या भएको छ।
यातायात अवरुद्ध हुँदा बर्दिबासबाट स्वास्थ्यकर्मीको टोलीसमेत नियमित रूपमा प्रभावित बस्ती पुग्न सकेको छैन। यसले भाइरल ज्वरोबाट प्रभावित हुनेको संख्या बढ्दै गएको स्थानीयले बताएका छन्।
प्रभावितमा रुघाखोकी, टाउको र जीउ दुख्ने, खान मन नलाग्ने तथा एकदेखि तीन डिग्रीसम्म ज्वरो आउनेजस्ता लक्षण देखिएका छन्। बालबालिकादेखि वृद्धवृद्धासम्म प्रभावित भएका छन्।
चुरे क्षेत्रका अधिकांश बस्तीमा भाइरल ज्वरो देखिए पनि बर्दिबास नगरपालिका–५, १० र ११ का बस्ती बढी प्रभावित भएका छन्।
बर्दिबास–५ का वडाध्यक्ष कहारमान स्याँवाका अनुसार बरडाँडा, ढुङ्ग्रे, गढन्ता, टुटेश्वर र चेरुलगायत बस्तीमा घरैपिच्छे बिरामी छन्। वडाका विभिन्न बस्तीमा मात्रै करिब दुईदेखि तीन सय जना भाइरल ज्वरोबाट प्रभावित भएको अनुमान गरिएको छ।
भाइरल ज्वरोको असर विद्यालयमा समेत परेको छ। बरडाँडास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका करिब ७५ प्रतिशत विद्यार्थी ज्वरोबाट प्रभावित भएपछि पठनपाठन प्रभावित बनेको प्रधानाध्यापक विल्टु यादवले बताउनुभयो।
दैनिकजसो आउने बाढीका कारण बिरामीले समयमै उपचार नपाउनु र स्वास्थ्यकर्मीलाई समेत बस्ती पुग्न कठिनाइ हुँदा समस्या थपिएको उहाँको भनाइ छ।
मौसममा केही सुधार भएपछि बुधबार ट्र्याक्टरमार्फत प्रभावित क्षेत्रमा पुगेको स्वास्थ्यकर्मीको टोलीले बरडाँडामा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। नगर स्वास्थ्य अधिकृत सुरेश पासवानका अनुसार शिविरमा आएका २६ महिला र ३३ पुरुष गरी ५९ जनामा भाइरल ज्वरोको समस्या देखिएको छ।
शिविरमा आएका सबै बिरामीलाई स्वास्थ्य परामर्शसँगै निःशुल्क औषधि वितरण गरिएको र यसबाट प्रकोप नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो।
वडा नम्बर १० मा पनि भाइरल ज्वरोको असर व्यापक देखिएको छ। वडाध्यक्ष प्रमोद मोक्तान आफैँ एक सातादेखि ज्वरोका कारण बिरामी परेको बताउनुहुन्छ।
वडा नम्बर १० स्थित आधारभूत स्वास्थ्य इकाइका अहेव जीतबहादुर श्रेष्ठका अनुसार भदौ १ गतेदेखि १६ गतेसम्म उपचारका लागि आएका २०२ जनामध्ये एक सय जनामा भाइरल ज्वरो देखिएको छ।
त्यस्तै, बर्दिबास–११ को उत्तरी क्षेत्रमा पर्ने खयरमारादेखि छोड्केसम्मका बस्तीमा समेत भाइरल ज्वरो फैलिएको खयरमारा स्वास्थ्य चौकीले जनाएको छ।
स्थानीयले प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य शिविर सञ्चालन, पर्याप्त औषधिको व्यवस्था तथा स्वास्थ्यकर्मीको सहज पहुँच सुनिश्चित गर्न माग गरेका छन्।



