

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य प्रतिकार्यका लागि १ लाख ५० हजार अमेरिकी डलर सहयोग उपलब्ध गराएको छ।
डब्लूएचओले दक्षिण–पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आकस्मिक कोषमार्फत उक्त रकम परिचालन गरेको हो। बाढीपछि तत्काल आवश्यक स्वास्थ्य प्रतिकार्य, अत्यावश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तथा प्रभावित समुदायसम्म स्वास्थ्य सेवा पुर्याउन सहयोग पुग्ने उद्देश्यले कोष प्रयोग गरिएको डब्लूएचओले जनाएको छ।
डब्लूएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. निलेश बुद्धले बाढी प्रभावित समुदायको आकस्मिक स्वास्थ्य आवश्यकता सम्बोधनसँगै पुनःस्थापनाका प्रयासमा संगठनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
बाढी आएको केही घण्टामै डब्लूएचओले प्रभावित क्षेत्रमा अत्यावश्यक स्वास्थ्य सामग्री र टेन्ट पठाएको थियो। करिब १० हजार मानिसलाई तीन महिनासम्म स्वास्थ्य सेवा उपलब्ध गराउन सकिने सामग्री प्रभावित क्षेत्रमा पठाइएको संगठनले जनाएको छ। आवश्यकता हेरेर सर्जिकल मास्क, पञ्जा, ह्यान्ड स्यानिटाइजरलगायत सामग्रीसमेत उपलब्ध गराइएको छ। बाढीका कारण २०० भन्दा बढी मानिस घाइते भएका छन्।
डब्लूएचओका अनुसार बागमती र गण्डकी प्रदेशका ६ जिल्लाका करिब १० हजार घरपरिवारलाई तत्काल राहत तथा स्वास्थ्य सेवाको आवश्यकता छ। बाढीले ठूलो जनधनको क्षति गर्नुका साथै मानिसलाई विस्थापित बनाएको छ भने स्वास्थ्य संस्था तथा अन्य महत्वपूर्ण पूर्वाधारमा समेत व्यापक क्षति पुगेको छ।
बाढीबाट सबैभन्दा प्रभावित रसुवाका चार स्वास्थ्य संस्था पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। धादिङका दुई स्वास्थ्य संस्था आंशिक रूपमा क्षति पुगेका छन्। धादिङ अस्पताल र त्रिशूली अस्पताल पुग्ने सडक अवरुद्ध हुँदा स्वास्थ्य संस्थासम्म सेवा तथा आवश्यक सामग्री पुर्याउनसमेत कठिनाइ भइरहेको छ।
सडक तथा यातायात संरचनामा भएको क्षतिका कारण दुर्गम र विस्थापित समुदायसम्म स्वास्थ्य सेवा तथा राहत सामग्री पुर्याउनु थप चुनौतीपूर्ण बनेको छ। डब्लूएचओले नेपाल सरकार र साझेदार संस्थासँगको सहकार्यमा स्वास्थ्य प्रतिकार्यलाई प्रभावकारी बनाउने, रोग निगरानी प्रणाली सुदृढ गर्ने तथा अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर सञ्चालनमा राख्ने काम भइरहेको जनाएको छ।
बाढीपछि डुबान, डुबेर हुने मृत्यु तथा चोटपटकसँगै झाडापखाला, श्वासप्रश्वाससम्बन्धी समस्या, दूषित पानी तथा खाद्यजन्य रोग र वाहकजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी र रोकथामका उपायलाई प्राथमिकता दिनुपर्ने डब्लूएचओको भनाइ छ।
त्यस्तै, आफन्त गुमाउनु, घरबार तथा जीविकोपार्जनमा क्षति पुग्नु र विस्थापित हुनुपर्दा प्रभावितको मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने भएकाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगलाई पनि प्रतिकार्यको महत्वपूर्ण पक्षका रूपमा लिनुपर्ने संगठनले जनाएको छ।
दक्षिण–पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आकस्मिक कोष डब्लूएचओको क्षेत्रीय स्तरको प्रमुख वित्तीय संयन्त्रमध्ये एक हो। आकस्मिक स्वास्थ्य संकटका बेला तत्काल आर्थिक स्रोत परिचालन गरी प्रभावकारी प्रतिकार्य र पूर्वतयारीमा सहयोग पुर्याउने उद्देश्यले यो कोष सञ्चालनमा छ।
डब्लूएचओका अनुसार सन् २००० मा उक्त कोष स्थापना भएयता नेपालका लागि स्वास्थ्यसम्बन्धी आकस्मिक प्रतिकार्यमा गरिएको १ लाख ५० हजार डलरको यो सहयोग ५४औँ विनियोजन हो।



