

चितवन – रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका ३४८ शवमध्ये ३३५ वटाको व्यवस्थापन गरिएको छ। तीमध्ये १२९ शवको लिङ्गसमेत पहिचान हुन सकेको छैन।
सनाखत हुन नसकेका शवलाई भरतपुर महानगरपालिका–१ देवघाटस्थित जंगलमा खाडल खनी व्यवस्थापन गरिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका शवमध्ये १२ वटाको सनाखत भएको छ भने एउटा शव व्यवस्थापन गर्न बाँकी छ।
जिल्लामा शव व्यवस्थापन गर्न कठिन भएपछि शवबाट डीएनए नमुना सुरक्षित राखेर शनिबारदेखि देवघाट जंगलमा खाडलमुनि शव व्यवस्थापन गर्न थालिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शनिबार ९६, आइतबार १०३, सोमबार ८१ र मंगलबार ५५ शव व्यवस्थापन गरिएको हो। जंगलमा व्यवस्थापन गरिएका शवमध्ये १२९ वटा लिङ्ग पहिचान नभएका छन्। त्यस्तै पुरुष १०७, महिला ७३, बालिका १५ र बालक ११ वटा शव रहेको प्रहरीले जनाएको छ।
शव व्यवस्थापन गरिए पनि भविष्यमा पहिचान गर्न सकिने गरी सबैको डीएनए नमुना सुरक्षित राखिएको प्रहरी उपरीक्षक पौडेलले बताए। सनाखत भएका शव भने पोस्टमार्टमपछि परिवारले बुझेर लगेका छन्।
भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा शव भेटिने क्रम अझै रोकिएको छैन। खोजी तथा शव व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।
शव पहिचानका लागि आफन्तको डीएनए संकलन
भोटेकोशी बाढीपछि फेला परेका शवको पहिचानका लागि चितवनमा आफन्तको डीएनए नमुना संकलन सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला र जनस्वास्थ्य कार्यालयको सहयोगमा भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग संघको परिसरमा नमुना संकलन केन्द्र सञ्चालनमा ल्याएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म आफन्तबाट रगतको नमुना संकलन भइरहेको छ। शवसँग पहिलो तहको नाता पर्ने बुबा, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको रगतको नमुना लिएर डीएनए परीक्षण गरिनेछ।
डीएनए नमुना दिन आउने व्यक्तिले आफ्नो पहिचान खुल्ने आधिकारिक कागजात र दुई प्रति पासपोर्ट आकारको फोटो ल्याउनुपर्ने प्रहरीले जनाएको छ।
नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रहरी निरीक्षक सन्देशकुमार पोखरेलका अनुसार हराइरहेका व्यक्तिको पहिचानका लागि शवबाट मुख्यतः दाँत र हड्डीका नमुना संकलन गरिएको छ। ती नमुनाबाट तयार हुने डीएनए प्रोफाइललाई आफन्तको नमुनासँग मिलान गरेर पहिचान गरिनेछ।
पहिलो तहका आफन्त उपलब्ध नभए दाजुभाइ वा दिदीबहिनीको डीएनए नमुनाबाट समेत परीक्षण गर्न सकिने उनले बताए। नेपालका प्रयोगशालाको क्षमता र आवश्यकताअनुसार वैदेशिक सहयोगसमेत परिचालन गरेर करिब १२ हप्ताभित्र सबै नमुनाको परीक्षण तथा डीएनए म्याचिङ सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
चितवन बाहिर रहेका आफन्तले सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालयमा पुगेर नमुना दिन सक्ने व्यवस्था गरिएको छ। विदेशमा रहेका आफन्तले सम्बन्धित नेपाली दूतावास वा कूटनीतिक नियोगमार्फत नमुना उपलब्ध गराउन सक्ने तथा नेपाल प्रहरीको आधिकारिक माध्यमबाट डीएनए प्रोफाइलको सफ्ट कपी पठाएर पनि प्रक्रियामा सहभागी हुन सक्ने प्रहरीले जनाएको छ।
देवघाटमा दीप प्रज्ज्वलन गरेर श्रद्धाञ्जली
देवघाट जंगलमा शव व्यवस्थापन गरिएको स्थानमा मंगलबार साँझ दीप प्रज्ज्वलन गरी दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, अस्पतालका अधिकारी तथा सर्वसाधारण सहभागी भएका थिए।
रामजानकी बालिका आश्रम देवघाटका कन्याहरूले गीता पाठ गरेका थिए भने विभिन्न धार्मिक समुदायका प्रतिनिधिले पनि मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।
जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दीप प्रज्ज्वलन गर्दै दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गरे।
प्रशासनले देवघाटमा गरिएको व्यवस्थापनलाई अन्तिम संस्कार नभई शवको पहिचान नखुलेसम्मका लागि गरिएको अस्थायी व्यवस्थापनका रूपमा स्पष्ट पारेको छ। उक्त क्षेत्रलाई १२ वर्षसम्म अस्थायी शव व्यवस्थापनस्थलका रूपमा प्रयोग गरिने जनाइएको छ।



