

चितवन- रसुवा–भोटेकोशी बाढीमा परी मृत्यु भएका तर सनाखत हुन नसकेका शवको पहिचानका लागि परिवारका सदस्यको डीएनए परीक्षण गर्न चितवनमा रगतको नमुना संकलन सुरु गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भरतपुर सेवा एकाइ र जनस्वास्थ्य कार्यालय चितवनको सहयोगमा रगत संकलन केन्द्र स्थापना गरेर सेवा सुरु गरेको हो।
भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग संघको परिसरमा स्थापना गरिएको केन्द्र बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।
भोटेकोशी नदीमा आएको बाढीपछि विभिन्न स्थानमा फेला परेका तर पहिचान खुल्न नसकेका शवको सनाखत गर्न परिवारका सदस्यको डीएनए परीक्षण गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। त्यसका लागि बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको रगतको नमुना संकलन गरिनेछ।
डीएनए परीक्षणका लागि रगतको नमुना दिन आउने आफन्तले आफ्नो पहिचान खुल्ने कागजात र दुई प्रति पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा लिएर आउन प्रहरीले आग्रह गरेको छ।
प्रहरीले मंगलबारदेखि सञ्चालनमा ल्याएको केन्द्रमा पहिलो दिन तीन जनाको रगतको नमुना संकलन गरिएको छ। सनाखत हुन नसकेका शवका आफन्तबाट नमुना संकलन गर्ने कार्य निरन्तर जारी रहने प्रहरीले जनाएको छ।
डीएनए परीक्षणबाट प्राप्त नमुनालाई शवबाट संकलित नमुनासँग मिलान गरी पहिचान खुलाउने प्रयास गरिनेछ। यसले भोटेकोशी बाढीमा ज्यान गुमाएका तर हालसम्म सनाखत हुन नसकेका व्यक्तिको पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।



