

काठमाडौँ- रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि उद्धार, राहत तथा पुनर्निर्माणका लागि यतिकेम ग्रुपले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५५ लाख १५ रुपैयाँ सहयोग गरेको छ।
गत भदौ १० गते आएको बाढीबाट प्रभावित क्षेत्रको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले यतिकेमले उक्त रकम कोषमा जम्मा गरेको हो।
यतिकेम ग्रुपका अध्यक्ष प्रभुराज वैद्य, प्रबन्ध निर्देशक पृथ्वीराज वैद्यसहित पदाधिकारी तथा कर्मचारीको टोलीले मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई रकम हस्तान्तरण गरेको हो।
सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष वैद्यले मुलुकमा विपद् आइपरेका बेला व्यक्ति तथा संस्थाले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताए। राष्ट्रमा परेको विपत्तिमा आफ्नो सामाजिक दायित्व पूरा गर्ने उद्देश्यले सहयोग गरिएको उनको भनाइ छ।
प्रबन्ध निर्देशक वैद्यका अनुसार यतिकेम ग्रुपअन्तर्गत यतिकेम डिस्ट्रिब्युटर्स प्रालि, यति फर्माकेम डिस्ट्रिब्युटर्स प्रालि र यति हेल्थ केयर प्रालि सञ्चालनमा छन्।
औषधि आयात तथा उत्पादन क्षेत्रमा सक्रिय यतिकेम ग्रुपले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ। रसुवा–भोटेकोशी बाढीपछि गरिएको यो सहयोग पनि विपद्मा प्रभावित नागरिकको उद्धार, राहत र पुनर्निर्माणमा योगदान पुर्याउने उद्देश्यले गरिएको हो।



