

काठमाडौँ – भोटेकोशी नदीमा आएको बाढीसँगै शव, मृत जीवजन्तु तथा विभिन्न फोहोरजन्य पदार्थ बगेपछि नदीको पानी र माछा दूषित हुन सक्ने भन्दै नेपाल प्रहरीले त्यसको प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
बाढीका कारण नदीमा शव, मृत जीवजन्तु, फोहोर तथा अन्य प्रदूषित पदार्थ मिसिएकाले पानीमा हानिकारक कीटाणु फैलिएको हुन सक्ने प्रहरीको भनाइ छ। यस्तो अवस्थामा भोटेकोशी बेसिनबाट निकालिएका माछा तथा अन्य नदीजन्य खाद्यपदार्थ सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने जोखिम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले भोटेकोशी तथा आसपासका नदी किनारबाट माछा वा अन्य नदीजन्य खाद्यपदार्थ निकालेर घर लैजाने, बिक्री गर्ने वा खाने कार्य नगर्न सर्वसाधारणलाई सूचित गरेको छ। त्यस्तै, नदीको पानी कुनै पनि प्रयोजनमा प्रयोग नगर्नसमेत आग्रह गरिएको छ।
दूषित पानी तथा खाद्यपदार्थको प्रयोगबाट हैजा, झाडापखाला, छालासम्बन्धी संक्रमणलगायत विभिन्न सरुवा रोग फैलिन सक्ने भएकाले विशेष सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।
बाढी प्रभावित क्षेत्रमा खानेपानीका स्रोतसमेत दूषित हुन सक्ने भएकाले सुरक्षित तथा शुद्धीकरण गरिएको पानी मात्र प्रयोग गर्न र स्वास्थ्यमा असामान्य लक्षण देखिए तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।
भोटेकोशीमा बाढीपछि नदीमा बगेका शव तथा अन्य प्रदूषित पदार्थका कारण सिर्जित स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणले केही समय नदीको माछा, पानी तथा नदीजन्य खाद्यपदार्थ प्रयोग नगर्नु नै सुरक्षित हुने प्रहरीले जनाएको छ।



