

रसुवा- रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्ष सन्दिप पौडेलले गम्भीर हृदयाघात भएका बिरामीको तत्काल उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।
पौडेलका अनुसार जिबजिबे ग्रामीण अस्पतालमा एन्टेरोल्याटरल मायोकार्डियल इन्फार्क्सन (गम्भीर हृदयाघात) भएका बिरामी उपचारका लागि पुगेका छन्। बिरामीको अवस्था अत्यन्तै नाजुक रहेकाले थप उपचारका लागि तत्काल सुविधासम्पन्न हृदय रोग केन्द्रमा लैजानुपर्ने अवस्था रहेको उनले बताएका छन्।
भौगोलिक कठिनाइ र यातायातको अभावका कारण बिरामीलाई सडकमार्फत लैजान कठिन हुने भएकाले हेलिकप्टरमार्फत एयर इभ्याकुएसन गर्नुपर्ने पौडेलको भनाइ छ।
उनले सरकार, प्रदेश सरकार र सम्बन्धित निकायलाई बिरामीको उद्धारमा तत्काल पहल गर्न आग्रह गरेका छन्। ‘म आफैँ वडा अध्यक्ष हुँ। केही गर्न नसक्ने अवस्थामा पुगेको छु,’ भन्दै उनले उद्धारमा ढिलाइ नगर्न अपिल गरेका छन्।
रसुवाका दुर्गम क्षेत्रमा पर्याप्त एम्बुलेन्स तथा आपतकालीन सवारीसाधनको व्यवस्था गर्नुपर्ने माग पनि उनले अघि सारेका छन्। साथै जिबजिबे ग्रामीण अस्पताललाई आवश्यक जनशक्ति, उपकरण, औषधि तथा विशेषज्ञ सेवासहित तत्काल स्तरोन्नति गर्न सरकारसँग आग्रह गरेका छन्।
वडाध्यक्ष पौडेलले तीन दिनदेखि माग हुँदै आएको वैकल्पिक सडक निर्माणको कामसमेत तत्काल सुरु गर्न माग गरेका छन्। स्वास्थ्य आपतकालीन अवस्थाका बिरामीको एयर लिफ्ट, राहत तथा उद्धारका लागि दीर्घकालीन र स्थायी प्रणाली बनाउनुपर्ने उनको भनाइ छ।
‘रसुवाका जनता दिनदिनै मर्दै छन्। बाँचेका थप रसुवालीलाई मर्न नदिनुस्,’ उनले सरकारसँग अपिल गर्दै भनेका छन्।
स्थानीय जनप्रतिनिधि र नागरिकका मागलाई गम्भीरतापूर्वक लिएर उद्धार, राहत, स्वास्थ्य सेवा सुधार तथा सडक पूर्वाधारका विषयमा तत्काल निर्णय लिन उनले सरकारसँग आग्रह गरेका छन्।
बिरामीको अवस्था गम्भीर रहेकाले उद्धारमा सामान्य ढिलाइले समेत ज्यान जोखिममा पर्न सक्ने भन्दै पौडेलले तत्काल हेलिकप्टरको व्यवस्था गर्न सम्बन्धित निकायलाई पुनः आग्रह गरेका छन्। साथै उद्धारमा समन्वय गर्न वा आफ्नो अपिल सम्बन्धित निकायसम्म पुर्याउन सक्ने व्यक्ति तथा संस्थालाई सहयोगका लागि आह्वान गरेका छन्।



