

रसुवा – भोटेकोशी नदीमा गत बुधबार आएको बाढीमा परी मृत्यु भएका मानिस तथा पशुपन्छीका शव र अवशेष बाहिरिन थालेपछि प्रभावित क्षेत्रमा दुर्गन्ध फैलिन थालेको छ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंका अनुसार आइतबार बिहान आएको अर्को बाढीले माटोमुनि पुरिएका मानव तथा पशुपन्छीका शरीर र टुक्रा बाहिर निकालेपछि नदी आसपासका क्षेत्रमा दुर्गन्ध फैलिएको हो।
रसुवाको वेत्रावती बगरमा समेत दुर्गन्ध फैलिन थालेको बाढी प्रभावितहरूले बताएका छन्। यस्तै नुवाकोटको देवीघाट क्षेत्रमा आइतबार तीन वटा मृत गाई बाहिरिएको अवस्थामा फेला परेका थिए।
पशु सेवा विभागका पशु चिकित्सक नवराज श्रेष्ठका अनुसार मृत पशु फेला पर्नेबित्तिकै व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय भइरहेको छ। प्रभावित जिल्लामा शव तथा मृत पशु व्यवस्थापनका लागि देशका विभिन्न ठाउँबाट एम्बुलेन्स तथा अन्य सवारीसाधनसमेत पठाइएको उनले बताए।
दुर्गन्ध र कीटाणु फैलिन नदिन प्रभावित क्षेत्रमा कीटनाशक रसायन प्रयोग गर्ने व्यवस्था मिलाइएको पनि श्रेष्ठले जानकारी दिए।
चिकित्सकहरूका अनुसार मृत मानिस वा पशुपन्छीका शवबाट दुर्गन्ध फैलिए पनि त्यसबाट मानिसमा सिधै संक्रामक रोग सर्ने सम्भावना भने कम हुन्छ। तर मृत पशुपन्छी खाने चराचुरुङ्गी तथा मुसाले खानेपानीका स्रोत दूषित पारेमा संक्रमणको जोखिम बढ्न सक्छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनका अनुसार मृत शव खाएका काग तथा मुसा मानव बस्तीमा पुग्दा विभिन्न रोग सर्ने जोखिम हुन्छ। विशेषगरी मुसा र चराले खानेपानीको स्रोत दूषित बनाएमा इकोलाई लगायतका ब्याक्टेरियाबाट संक्रमण हुन सक्ने उनले बताए।
उनका अनुसार शवबाट मानिसमा सिधै रोगको प्रकोप फैलिएको तथ्य अहिलेसम्म छैन। तर शवसँग सम्पर्कमा आएका मुसा तथा चरामार्फत संक्रमण फैलिन सक्ने भएकाले प्रभावित क्षेत्रमा सावधानी आवश्यक छ।
बाढीका कारण आएको माटोमा रहेका कीटाणुबाट पशुमा समेत संक्रमणको जोखिम रहेको पशु चिकित्सक श्रेष्ठले बताए। उनका अनुसार यस्तो संक्रमणबाट पशुमा ‘पड्के’ रोग लाग्न सक्छ, जुन पशुबाट मानिसमा समेत सर्न सक्छ।
यो रोग गराउने कीटाणु पशुको मुख, मलद्वार वा आँखाबाट शरीरमा प्रवेश गर्न सक्छ। संक्रमण भएपछि मलद्वार र नाकबाट कालो रगत बग्ने तथा रगत नजम्ने जस्ता समस्या देखिन सक्छन्। गम्भीर अवस्थामा पशुको मृत्युसमेत हुन सक्ने श्रेष्ठले बताए। मानिसमा संक्रमण भए छालामा घाउ देखिन सक्ने उनको भनाइ छ।
चिकित्सकहरूले बाढी प्रभावित क्षेत्रमा विस्थापितहरू बसिरहेको स्थानमा सरसफाइको कमी हुँदा विभिन्न रोग फैलिने जोखिमसमेत औँल्याएका छन्। विशेषगरी दूषित पानी र खानेकुराका कारण झाडापखाला तथा लामखुट्टेबाट सर्ने रोगको जोखिम बढ्न सक्छ।
डा. पुनले अस्थायी टहरामा बस्ने विस्थापितका लागि सफा पिउने पानी, सुरक्षित खानेकुरा र स्वच्छ शौचालयको व्यवस्था गर्नुपर्ने बताए। भीडभाडमा बस्नुपर्ने अवस्था रहेकाले आवश्यकताअनुसार मास्क प्रयोग गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन उनले सुझाव दिएका छन्।



