

काठमाडौँ – क्यान्सर उपचारमा अत्यावश्यक मानिने सिस्प्लाटिन र कार्बोप्लाटिन औषधिको अभाव तीन महिनादेखि कायमै रहेको छ । सरकारले आपूर्ति सहज भइरहेको दाबी गरे पनि अस्पताल र फार्मेसीमा यी औषधिको पर्याप्त मौज्दात नरहेको पाइएको छ ।
क्यान्सरका बिरामीले सहज रूपमा फार्मेसीबाट औषधि खरिद गर्न सक्ने अवस्था छैन । औषधि व्यवस्था विभागले तोकेका स्वास्थ्य संस्थामध्ये अधिकांशमा समेत सिस्प्लाटिन र कार्बोप्लाटिनको अभाव देखिएको छ । क्यान्सर विशेषज्ञका अनुसार प्लाटिनम समूहमा पर्ने यी औषधि पेट, स्तन, फोक्सो, अण्डाशय, ठूलो आन्द्रा तथा सानो आन्द्रालगायत विभिन्न प्रकारका क्यान्सरको उपचारमा प्रयोग हुने गर्छन् ।
नेपालमा यी औषधि स्वदेशमा उत्पादन हुँदैनन् । पूर्ण रूपमा विदेशबाट आयात गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा यसको असर नेपाली बजारमा परेको आयातकर्ताहरू बताउँछन् । भारतलगायतका बजारमा कच्चा पदार्थ तथा औषधिको मूल्य बढे पनि नेपालमा लामो समयदेखि मूल्य समायोजन हुन नसक्दा आयातकर्ताले घाटा बेहोरेर औषधि बिक्री गर्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ ।
काठमाडौंस्थित डीकेएम फर्मास्युटिकल्सका सुरजकुमार टिवडेवालले भारतबाट महँगोमा औषधि खरिद गरेर नेपालमा पुरानै मूल्यमा बिक्री गर्नुपर्ने भएकाले आयातमा समस्या भएको बताए । उनका अनुसार खरिद मूल्यभन्दा कममा बिक्री गर्नुपर्ने भएपछि व्यवसायीले पर्याप्त मात्रामा औषधि आयात गर्न सकेका छैनन् ।
काठमाडौंस्थित सिजल फर्माका अञ्जन पुडासैनीले पनि सिस्प्लाटिन र कार्बोप्लाटिन आफ्नो फार्मेसीमा मौज्दात नरहेको बताए । औषधि व्यवस्था विभागले केही फार्मेसीमा सम्पर्क गर्न अनुरोध गरे पनि आफूहरूसँग अहिले दुवै औषधि नभएको उनले जानकारी दिए ।
नेपालगञ्जस्थित जानकी अस्पतालका रञ्जित राजवंशीका अनुसार त्यहाँ सिस्प्लाटिन उपलब्ध छैन भने कार्बोप्लाटिन १५० एमजी केही मात्रामा मात्रै बाँकी छ । बजारमै यी औषधिको अभाव रहेको उनले बताए ।
भक्तपुर क्यान्सर अस्पताल र चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसहित देशभरका स्वास्थ्य संस्थामा क्यान्सर उपचारमा प्रयोग हुने सिस्प्लाटिन, कार्बोप्लाटिन र अक्सालिप्लाटिनजस्ता प्लाटिनम–आधारित केमोथेरापी औषधिको पर्याप्त मौज्दात छैन ।
भक्तपुर क्यान्सर अस्पतालकी फार्मेसी इन्चार्ज अनिता दुवालले अस्पतालमा सिस्प्लाटिन र कार्बोप्लाटिन पर्याप्त मात्रामा नरहेको बताइन् । उनका अनुसार कार्बोप्लाटिन १५० एमजी र ४५० एमजी तथा सिस्प्लाटिन ५० एमजी केही मात्रामा मात्रै बाँकी छ । अस्पतालमा रहेको मौज्दात पनि सकिन लागेको उनले जानकारी दिइन् ।
यसअघि औषधि व्यवस्था विभागले जेठ २६ गते सूचना जारी गर्दै क्यान्सर उपचारमा प्रयोग हुने सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सनलगायतका केही औषधि तोकिएका ११ वटा स्वास्थ्य संस्थाबाट उपलब्ध हुने जनाएको थियो । तर अहिले ती स्वास्थ्य संस्थामै औषधिको मौज्दात पर्याप्त नरहेको देखिएको छ ।
औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले बजारमा सिस्प्लाटिन र कार्बोप्लाटिनको अभाव रहेको स्वीकार गर्दै समस्या समाधानका लागि सरकारसँग पटक–पटक आग्रह गरिएको बताए । औषधिको मूल्य समायोजन गर्न मूल्य अनुगमन समितिको बैठकबाट प्रस्ताव अघि बढे पनि निर्णय कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । उनले औषधिको मूल्य समायोजनसम्बन्धी स्वास्थ्य मन्त्री निशा मेहताले संसद्मा गरेको प्रतिबद्धता व्यवहारमा लागू हुनुपर्ने बताए ।
भारतलगायत अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढ्दै गए पनि नेपालमा लामो समयदेखि आयातित औषधिको मूल्य समायोजन हुन सकेको छैन । अन्तर्राष्ट्रिय बजारमा उत्पादन लागत बढ्दा नेपालमा भने पुरानै मूल्यमा औषधि बिक्री गर्नुपर्ने बाध्यता रहेकाले आयातकर्ताहरूले आयात घटाएको व्यवसायीहरूको दाबी छ ।
नेपालमा पछिल्लो १० वर्षदेखि अधिकांश औषधिको मूल्य समायोजन हुन सकेको छैन । यसअघि ११७ प्रकारका औषधिको मात्रै मूल्य समायोजन भएको बताइएको छ । जबकि नेपाली बजारमा १० हजारभन्दा बढी प्रकारका औषधि बिक्री हुने गरेका छन् । कच्चा पदार्थको मूल्य र अमेरिकी डलरको भाउ बढ्दा अन्तर्राष्ट्रिय बजारमै औषधिको उत्पादन लागत बढेको विभाग र मन्त्रालयका अधिकारीहरूले पनि स्वीकार गरेका छन् ।
अभाव देखिएका क्यान्सरका औषधि तथा स्लाइनजन्य औषधिको मूल्य समायोजन गर्ने वा वैकल्पिक व्यवस्था गर्ने विषयमा विभाग र मन्त्रालयका अधिकारीबीच छलफल भइरहेको छ । औषधि व्यवस्था विभागकी सूचना अधिकारी सचिता जोशीले सिस्प्लाटिन र कार्बोप्लाटिनलगायतका औषधिको अभावबारे आयातकर्तासँग निरन्तर छलफल भइरहेको बताइन् । उनका अनुसार यी औषधिसहित ९७ वटा औषधिको मूल्य समायोजनबारे छलफल भइरहेको छ र औषधि परामर्श परिषद्को बैठकले थप निर्णय गर्नेछ ।
गत असार ३ गते स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिनिधिसभाको बैठकमा औषधिको मूल्य समायोजनका लागि एक साताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने बताएकी थिइन् । तर, संसद्मा उक्त प्रतिबद्धता जनाएको करिब दुई महिना बितिसक्दा पनि बैठक बस्न सकेको छैन ।
नेपालमा हरेक वर्ष २२ हजारदेखि २६ हजारभन्दा बढी नयाँ क्यान्सरका बिरामी पहिचान हुने गरेका छन् । यस्तो अवस्थामा उपचारका लागि अत्यावश्यक औषधिको आपूर्ति नियमित नहुँदा बिरामी थप समस्यामा पर्ने जोखिम बढेको छ ।
यता स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भने औषधिको आपूर्ति सहज बनाउन काम भइरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता समिरकुमार अधिकारीका अनुसार अनुदानमार्फत क्यान्सर उपचारमा प्रयोग हुने केही औषधि प्राप्त भइसकेका छन् । सिस्प्लाटिन र कार्बोप्लाटिनसहितका केही औषधि भर्खरै प्राप्त भएकाले अब सरकारी अस्पतालमा पठाउने तयारी भइरहेको उनले बताए । केही दिनभित्रै यी औषधिको आपूर्ति विस्तारै सहज हुने मन्त्रालयको दाबी छ ।



