

काठमाडौं – प्यान्क्रियाज क्यान्सरका बिरामीका लागि नयाँ आशा जगाउने औषधि ‘रासोनक्यु’लाई अमेरिकी खाद्य तथा औषधि प्रशासनले स्वीकृति दिएको छ।
रिभोलुसन मेडिसिन्सले विकास गरेको यो औषधिले उन्नत अवस्थामा पुगेको प्यान्क्रियाज क्यान्सरका बिरामीको बाँच्ने दर दोब्बर बनाएको ठूलो परीक्षणमा देखिएपछि अमेरिकी खाद्य तथा औषधि प्रशासनले स्वीकृति दिएको हो।
दिनमा एकपटक सेवन गर्ने चक्कीका रूपमा प्रयोग हुने ‘रासोनक्यु’ शरीरका अन्य भागमा समेत फैलिएको प्यान्क्रियाज क्यान्सर भएका, यसअघि उपचार गराइसकेका वा संयुक्त किमोथेरापी लिन नसक्ने बिरामीका लागि प्रयोग गर्न स्वीकृत गरिएको छ। यो औषधिले क्यान्सरका विभिन्न प्रकारमा ट्युमरको वृद्धि गराउन भूमिका खेल्ने आरएएस नामक प्रोटिनलाई रोक्ने काम गर्छ।
रिभोलुसन मेडिसिन्सका अनुसार अमेरिकामा ‘रासोनक्यु’को ३० दिनको औषधिको मूल्य ३९ हजार ८०० अमेरिकी डलर तोकिएको छ। कम्पनीले आवश्यक बिरामीका लागि आर्थिक सहायता उपलब्ध गराउने जनाएको छ।
अमेरिकी खाद्य तथा औषधि प्रशासनले ‘रासोनक्यु’लाई नयाँ शीघ्र समीक्षा प्रक्रियाअन्तर्गत स्वीकृति दिएको हो। यस प्रक्रियाले सामान्यतया १० देखि १२ महिना लाग्ने औषधि समीक्षा अवधि घटाएर एकदेखि दुई महिनासम्म पुर्याउने लक्ष्य राखेको छ।
चिकित्सकहरूले ‘रासोनक्यु’ले प्यान्क्रियाज क्यान्सरको उपचारमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने बताएका छन्। आरएएस मार्गलाई लक्षित गरी उपचार विकास गर्ने प्रयास दशकौँदेखि हुँदै आएको अवस्थामा यो उपलब्धिलाई महत्वपूर्ण सफलता मानिएको छ।



