

काठमाडौं- रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा आएको भीषण बाढीमा परी घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौं ल्याएर विभिन्न अस्पतालमा उपचार भइरहेको छ। गृह मन्त्रालय तथा सम्बन्धित स्वास्थ्य संस्थाले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ८८ जना घाइतेलाई काठमाडौं ल्याइएको छ।
काठमाडौं ल्याइएका घाइतेमध्ये सबैभन्दा धेरै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ४० जना र राष्ट्रिय ट्रमा सेन्टरमा ३१ जनाको उपचार भइरहेको छ। यस्तै, वीर अस्पतालमा ६ जना, वीरेन्द्र सैनिक अस्पतालमा १ जना, मनमोहन अस्पतालमा २ जना र ग्रीन सिटी अस्पतालमा १ जनाको उपचार भइरहेको छ।
काठमाडौं ल्याइएका घाइतेमध्ये २७ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ६१ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन्।
बाढीबाट घाइते हुनेमा तीन महिनाका शिशुदेखि ८० वर्षसम्मका वृद्धवृद्धासमेत रहेका छन्। रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत कर्मचारीका तीन महिनाका शिशुको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै, नुवाकोटकी ८० वर्षीया एक वृद्धाको वीर अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको जनाइएको छ।
घाइतेमध्ये धेरैको टाउकोमा चोट लागेको, हातखुट्टा भाँचिएको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको चिकित्सकहरूले बताएका छन्। बाढी प्रभावित क्षेत्रबाट गम्भीर घाइतेहरूलाई उद्धार गरी काठमाडौं ल्याउने क्रम जारी रहेको छ।



