

काठमाडौं – नुवाकोट, रसुवा र धादिङलगायतका बाढीपहिरो प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राख्दै सरकारले स्वास्थ्य आपत्कालीन प्रतिकार्यलाई तीव्र बनाएको छ। प्रभावित क्षेत्रमा मेडिकल टोली, औषधि, एम्बुलेन्स र रक्तसञ्चार सेवासहित स्वास्थ्य संयन्त्र परिचालन गरिएको छ भने काठमाडौं उपत्यकाका प्रमुख अस्पताललाई आपत्कालीन अवस्थाका लागि ‘स्ट्यान्डबाइ’मा राखिएको छ।
प्रधानमन्त्री बालेन शाहले बिहीबार नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार र घाइतेको निःशुल्क उपचार रहेको बताएका छन्।
बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय गरिएको छ। वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल र प्रहरी अस्पताललाई सम्भावित आपत्कालीन अवस्थाका लागि तयारी अवस्थामा राखिएको छ।
सरकारका अनुसार वीर अस्पताल र ट्रमा सेन्टरमा १–१ सय तथा पाटन अस्पतालमा ६० वटा आपत्कालीन शय्या तयारी अवस्थामा राखिएको छ। प्रभावित क्षेत्रमा घाइतेको उपचारका लागि आवश्यकताअनुसार मेडिकल टोली, औषधि, एम्बुलेन्स तथा रक्तसञ्चार सेवा परिचालन गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।
ट्रमा सेन्टर, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली आवश्यक औषधि र उपकरणसहित प्रभावित क्षेत्रमा पठाइएको छ। धुलिखेल अस्पताललगायत अन्य स्वास्थ्य संस्थालाई समेत आवश्यकताअनुसार सेवा दिन तयारी अवस्थामा राखिएको छ।
सरकारले बाढीपहिरो प्रभावित तथा घाइते नागरिकको निःशुल्क उपचार सुनिश्चित गरिएको जनाएको छ। उद्धारका क्रममा भेटिएका गम्भीर बिरामी, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई विशेष प्राथमिकताका साथ उद्धार तथा स्वास्थ्य सेवा उपलब्ध गराइएको छ।
प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य सेवा विस्तार गर्न फिल्ड अस्पतालसमेत परिचालन गरिएको छ। विपद् व्यवस्थापनमा प्रयोग हुने ‘भीष्म क्युब’ फिल्ड अस्पताल सेट त्रिशूली क्षेत्रमा पठाइएको छ भने स्वास्थ्य सामग्री र आवश्यक उपकरण हवाई तथा स्थलमार्गबाट प्रभावित क्षेत्रमा पुर्याउने काम भइरहेको छ।
प्रधानमन्त्री शाहले उद्धार र राहत कार्यसँगै घाइतेको समयमै उपचार र प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार केन्द्रित रहेको बताएका छन्। सरकारले प्रभावित क्षेत्रको अवस्था सामान्य नहुँदासम्म खोजी, उद्धार, उपचार तथा राहतका लागि आवश्यक स्वास्थ्य तथा अन्य सरकारी संयन्त्र पूर्ण क्षमतामा परिचालन रहने जनाएको छ।



