

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण हालसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ। बाढीमा परी ६३ जना घाइते भएका छन् भने २८ जना अझै प्रहरीको सम्पर्कमा आएका छैनन्।
नेपाल प्रहरीले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार मृतकमध्ये २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका र ५ जना बालक रहेका छन्। साथै २० जनाको शवको पहिचान खुल्न बाँकी रहेको छ।
बाढीबाट प्रभावित विभिन्न जिल्लामा शव फेला परेका छन्। रसुवामा एक पुरुषको शव फेला परेको छ भने नुवाकोटमा पाँच महिला र छ पुरुष गरी ११ जनाको मृत्यु भएको पुष्टि भएको छ।
त्यस्तै, धादिङमा ११ महिला, पाँच पुरुष र पहिचान नखुलेका दुई जनासहित १८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। गोरखामा एक महिला, चार पुरुष, एक बालक तथा पहिचान नखुलेका १० जनाको शव भेटिएको छ।
चितवनमा १० महिला, १० पुरुष, दुई बालिका, तीन बालक र पहिचान नखुलेका आठ जनाको शव फेला परेको छ। तनहुँमा तीन पुरुष, एक बालिका र एक बालकको मृत्यु भएको छ भने नवलपरासीपूर्वमा आठ पुरुष र तीन बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।
६३ जना विभिन्न अस्पतालमा उपचाररत
बाढीमा घाइते भएका ६३ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ।
घाइतेमध्ये महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा सात जना, वीरेन्द्र सैनिक छाउनी अस्पतालमा एक जना, रसुवा अस्पतालमा २१ जना र त्रिशूली अस्पतालमा १६ जनाको उपचार भइरहेको छ। त्यस्तै, नर्भिक अस्पतालमा तीन जना र ग्रीनसिटी अस्पतालमा एक जना उपचाररत छन्।
यसैबीच, बाढीपछि विभिन्न स्थानबाट २८ जना प्रहरी सम्पर्कविहीन रहेको जनाइएको छ। प्रहरीका अनुसार टिमुरेबाट १० जना, रसुवागढीबाट आठ जना, स्याफ्रुबेँसीबाट तीन जना, मैलुङबाट पाँच जना तथा वेत्रावती र हाकुबाट एक–एक जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।



