

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा उपचार सेवा प्रदान गर्न राष्ट्रिय ट्रमा सेन्टरका विशेषज्ञ चिकित्सक तथा नर्ससहितको मेडिकल टोली नुवाकोटको त्रिशूलीतर्फ प्रस्थान गरेको छ ।
बाढीका कारण घाइते तथा प्रभावित भएका नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले चिकित्सक र नर्ससहितको टोली त्रिशूली क्षेत्रमा परिचालन गरिएको हो ।
टोलीमा ६ जना चिकित्सक र दुईजना नर्स सहभागी रहेको चिकित्सक विवेक भण्डारीले जानकारी दिए । उनका अनुसार बाढी प्रभावित क्षेत्रमा पुगेर घाइते तथा बिरामीको अवस्था मूल्यांकन गर्दै आवश्यक उपचार प्रदान गर्नुका साथै गम्भीर घाइतेलाई तत्काल प्राथमिक उपचार गरिनेछ ।
‘बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार सेवा दिन र गम्भीर घाइतेलाई तत्काल प्राथमिक उपचार प्रदान गर्न हामी त्रिशूलीतर्फ लागेका छौँ,’ चिकित्सक भण्डारीले भने ।
टोलीले प्रभावित क्षेत्रमा पुगेर घाइते तथा बिरामीको स्वास्थ्य अवस्था मूल्यांकन गर्ने र आवश्यक उपचार तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने जनाइएको छ ।



