

काठमाडौँ- लामखुट्टेको टोकाइबाट सर्ने जापानी इन्सेफलाइटिस (जेई) को संक्रमण नेपालमा तीव्र रूपमा फैलिन थालेको छ। पूर्वी जिल्लाबाट सुरु भएको संक्रमण पछिल्लो समय पश्चिमतर्फ समेत फैलिएको स्वास्थ्यसम्बन्धी तथ्याङ्कले देखाएको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्याङ्कअनुसार भदौ ९ गतेसम्म देशका २६ जिल्लाका ६२ स्थानीय तहमा ८५ जनामा प्रयोगशाला परीक्षणबाट जेई संक्रमण पुष्टि भएको छ। तीमध्ये हालसम्म २१ जनाको मृत्यु भइसकेको छ भने २६ जना उपचाररत छन्। पछिल्ला चार दिनमा मात्रै थप पाँच जनामा संक्रमण पुष्टि भएको हो।
जेई पुष्टि भएका बिरामीमध्ये मृत्यु दर करिब २५ प्रतिशत रहेको छ। मृत्यु हुनेमा ९ पुरुष र १२ महिला छन्। मृतकमध्ये ८१ प्रतिशत ५० वर्षभन्दा माथिका नागरिक रहेको तथ्याङ्कमा उल्लेख छ।
सबैभन्दा धेरै मृत्यु झापामा भएको छ। झापामा ६ जनाको मृत्यु हुँदा सुनसरी, सप्तरी, पर्सा र कैलालीमा दुई–दुई जनाको मृत्यु भएको छ। त्यस्तै मोरङ, इलाम, रौतहट, धनुषा, काभ्रे, दाङ र नवलपरासी पश्चिममा एक–एक जनाको मृत्यु भएको छ।
कुल संक्रमितमध्ये ८६ प्रतिशतले जेईविरुद्धको खोप नलगाएको पाइएको छ। संक्रमितमध्ये ५३ जना अर्थात् ६२ प्रतिशत १५ वर्षभन्दा माथिका छन्। बालबालिकातर्फ १० देखि १४ वर्ष उमेर समूहमा सबैभन्दा धेरै १२ जनामा संक्रमण पुष्टि भएको छ।
एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. अनुज भट्टचनका अनुसार जेई संक्रमण पूर्वी नेपालबाट सुरु भएर क्रमशः पश्चिमतर्फ फैलिएको हो। हालका संक्रमितमध्ये ८७ प्रतिशत तराईका जिल्लाका छन् भने ५८ प्रतिशतको मुख्य पेसा कृषि रहेको छ।
धानखेत तथा सुँगुर फार्म आसपास बसोबास गर्ने र कृषि पेसामा संलग्न व्यक्तिहरू जेईको उच्च जोखिममा रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा १४ दिनभित्र एउटै वा आसपासका वडामा दुई जना जेई संक्रमित भेटिएपछि प्रकोपको अवस्था देखिएको सरकारी प्रतिवेदनमा उल्लेख छ।
कोशीमा सबैभन्दा बढी संक्रमित र मृत्यु
प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै २४ जना जेई संक्रमित भएका छन् भने १० जनाको मृत्यु भएको छ। मधेश प्रदेशमा १९ संक्रमित र ६ जनाको मृत्यु, बागमतीमा ११ संक्रमित र एक मृत्यु, लुम्बिनीमा ८ संक्रमित र दुई मृत्यु तथा सुदूरपश्चिममा १६ संक्रमित र दुई जनाको मृत्यु भएको छ।
त्यस्तै गण्डकी प्रदेशमा पाँच जनामा संक्रमण पुष्टि भए पनि जेईबाट मृत्यु भएको छैन। कर्णालीमा दुई जना संक्रमित भेटिएका छन् भने मृत्यु शून्य रहेको छ।
डा. भट्टचनका अनुसार जेईबाट हुने मृत्यु ५० वर्षभन्दा माथिका व्यक्तिमा बढी देखिएको छ। विशेषगरी ६० वर्षभन्दा माथिका तथा जेईविरुद्ध खोप नलगाएका व्यक्तिमा मृत्युको जोखिम बढी देखिएको छ। खेतीपातीको समयमा समेत जेई संक्रमणबाट हुने मृत्यु बढ्ने गरेको उनले बताएका छन्।
१२ महिनामा खोप, छुटेकालाई पाँच वर्षसम्म
नेपालको नियमित खोप कार्यक्रमअन्तर्गत १२ महिनाको उमेरमा जेईविरुद्ध एक मात्रा खोप दिने व्यवस्था छ। खोप छुटेका बालबालिकालाई पाँच वर्षको उमेरसम्म खोप दिन सकिने जनाइएको छ।
जेई जापानी इन्सेफलाइटिस भाइरसबाट हुने संक्रमण हो, जुन मुख्यतः क्युलेक्स प्रजातिका लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। डब्लुएचओका अनुसार विश्वभर हरेक वर्ष करिब एक लाख क्लिनिकल जेईका घटना हुने अनुमान छ, जसबाट करिब २५ हजार मानिसको मृत्यु हुने गरेको छ।
धेरैजसो जेई संक्रमण हल्का लक्षणसहित वा लक्षणविहीन हुने भए पनि केही संक्रमितमा गम्भीर इन्सेफलाइटिस हुन सक्छ। गम्भीर अवस्थामा उच्च ज्वरो, टाउको दुख्ने, घाँटी कडा हुने, बेहोस हुने, कोमा, चक्कर लाग्ने तथा पक्षाघातजस्ता समस्या देखिन सक्छन्।
रोगका लक्षण देखिएका गम्भीर बिरामीमा मृत्यु दर ३० प्रतिशतसम्म पुग्न सक्ने डब्लुएचओले जनाएको छ। बाँचेकामध्ये पनि केहीमा दीर्घकालीन रूपमा संज्ञानात्मक, व्यवहारिक तथा न्यूरोलोजिकल समस्या देखिन सक्ने उल्लेख छ।



